• चैत्र १८ २०८१, मंगलवार

लोडसेडिङ हुन दिन्न, दुई साताभित्र परिणाम देखाउँछु :  हितेन्द्रदेव शाक्य

चैत्र १२ २०८१, बुधबार

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भारतबाट बिजुली ल्याएर भए पनि उद्योगमा लोडसेडिङ हुन नदिने दाबी गरेका छन् ।

मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासमक्ष शपथ ग्रहण पश्चात् प्राधिकरणको कार्यभार सम्हाल्दै शाक्यले दुई साताभित्र उद्योगधन्दामा भइरहेको लोडसेडिङको समस्या समाधान गर्ने बताएका छन् ।

मन्त्रिपरिषद् बैठकले सोमबार कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर शाक्यलाई नियुक्त गरेको हो । ‘भारतबाट बिजुली ल्याएर भए पनि २०७७ सालमा पनि उद्योगमा लोडसेडिङ गरिएन, भलै त्यो बेला प्राधिकरणको नाफा कम भयो । किनकि त्यस वर्ष भारतबाट धेरै मूल्यमा बिजुली ल्याउनुपरेको थियो,’ शाक्यले भने, ‘अहिले उद्योगधन्दामा मात्रै १२ देखि १४ घण्टा लोडसेडिङ भइरहेको छ । भारतबाट बिजुली ल्याएर भए पनि लोडसेडिङ हुन दिन्नँ । एकदेखि दुई साताभित्र परिणाम देखाउँछु ।’