• चैत्र १८ २०८१, मंगलवार

संसदवादी दलहरुको भ्रष्टाचारजन्य गतिविधिका कारण ज्ञानेन्द्र शाह सल्बलाउन थाले : नेता चलाउने

चैत्र १० २०८१, सोमबार

काठमाडौं । नेकपा (बहुमत)का स्थायी समिति सदस्य उदयबहादुर चलाउने ‘दीपक’ले संसदवादी दलहरुको जनविरोधि गतिविधिका कारण राजावादीहरु सकृय भएको बताएका छन् ।

जनक्रान्तिबाट आएको एउटा तप्का संसदवादी व्यवस्थामा पतन हुनु र कांग्रेस–एमालेको विदेशीको दलाली गर्ने प्रवृत्तिका कारण भ्रष्टाचारजन्य कृयाकलाप बढेकोले पूर्वराजा ज्ञानेन्द्र शाहहरु सलबलाउन थालेको नेता चलाउनेको भनाई रहेको छ ।

भ्रष्टाचार विरुद्धको अभियान चलाउने घोषणा गरेको नेकपा (बहुमत)को ३ नम्बर ब्यूरोको राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा मुख्य अतिथिको तर्फबाट बोल्दै उनले यस्तो बताएका हुन् ।

३ नम्बर ब्यूरोको अभियान उद्घाटन पछिको मन्तव्यका क्रममा उनले गाउँ र सहरमा भ्रष्टाचार विरोधि, लघुवित्त र सहकारी ठगी विरुद्ध संघर्ष समिति बनाएर जनताको घरजग्गा उठिबास गर्नेहरु विरुद्ध कारवाही गरिने दावी पनि गरे । बहुमतका कार्यकर्ताले केही समयअघि सहकारी ठगीको आरोपमा दाङमा २ जनाको नाक काटेका थिए ।

एक प्रसंगमा उनले एकाधिकार पुँजीवादीहरु विज्ञान र प्रविधिको प्रयोग गरेर उपभोक्ताको घरमा पुग्नु र दोस्रो विश्वयुद्धपछि उदायको नवउपनिवेशवादले संसारभर शासन गरिरहेकोले विश्वको कुनैपनि देशमा झैं नेपालमा पनि शसस्त्र विद्रोहको सम्भावना रहेको उनको भनाई रहेको छ ।

रुस, चीन, भियतनाम र पेरु लगायतका देशहरुमा क्रान्ति गर्ने बेलाको भन्दा आजको समय भिन्न भएकोले नेपाल जस्तो अल्पविकसित देशमा पनि शसस्त्र तरिकाले क्रान्ति गर्न सकिने सम्भावना रहेको उनको तर्क रहेको छ ।

नेता चलाउनेले ६२–६३ को आन्दोलनपछि सामन्तवाद हारेर पुँजीवाद स्थापना हुनुपर्नेमा विदेशीमा नेपालमा भित्र्याउने दलाल पुँजीवाद स्थापना भएकोले त्यसलाई परास्त गर्दै अब समाजवादी क्रान्ति गर्ने बाटोमा जानुपर्ने उनको भनाई रहेको छ ।

नेकपा (बहुमत)ले सहकारी र लघुवित्तका ठग तथा भ्रष्टाचारीविरुद्ध कारवाही गर्दै आएको छ । यसैबीच सो पार्टीले पहिलोचरणमा तराई केन्द्रित र दोस्रो चरणमा पहाड तथा हिमाली जिल्लाहरुमा राजनैतिक अभियान चलाउने बताएको छ ।
बैसाख १५ गते पहिलोचरणको अभियान काठमाडौंमा समापन गरेर सो पार्टीले दोस्रोचरणको अभियान संचालन गर्ने बताएको छ । सो प्रशिक्षण कार्यक्रममा मकवानपुर इन्चार्ज, अग्रिम, काभ्रे इन्चार्ज डिबी सर्वश्रेष्ठ, चितवन इन्चार्ज रक्तिम, अखिल क्रान्तिकारीका अध्यक्ष वीरेन्द्र शाह लगायतकाले अभियानको उद्धेश्यका बारेमा मन्तव्य राखेका थिए ।