काठमाडौं । सिराहाको औरही गाउँपालिका–५ मा दीपक मरिक डोमको घर भत्काएको अभियोगमा प्रहरीले गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादवलाई पक्राउ गरेको छ ।
मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआइजी लालमणि आचार्यका अनुसार उनीहरूलाई २ घण्टाअघि नियन्त्रणमा लिइएको हो । अहिले उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सिराहाको हिरासतमा राखिएको छ ।
पीडितबाट जाहेरी आए उनीहरूलाई सोही बमोजिम कारबाही प्रक्रिया अघि बढाइने डीआइजी आचार्यले बताए ।
’सोधपुछका लागि दुवैजनालाई सम्पर्क गरेर जिल्ला प्रहरी कार्यालयमा आउन भनिएको थियो । उनीहरू जिल्ला प्रहरी कार्यालयको सम्पर्कमा आएका छन् । उनीहरूलाई त्यहीँ नियन्त्रणमा राखिएको छ ।
पीडितले जाहेरी दिएको खण्डमा उनीहरूमाथि कारबाही प्रक्रिया अघि बढाइने’ डीआईजी आचार्यले भने ।
आगामी चैत १७ गतेबाट हुने विष्णु महायज्ञको लागि दीपक मरिक (डोम)को घर गत फागुन १० गते भत्काएका थिए ।