• चैत्र ६ २०८१, बिहीबार

टोखाबाट बरामद २५ करोडको मालिक को ?

चैत्र ५ २०८१, बुधबार

६ चैत, काठमाडौं । ‘जहिले पनि हामी भरिया समात्छौं, मालिक समात्दैनौं । सभामुखमार्फत मेरो अनुरोध छ– मालिक समातेर देखाउनुस् । २५ करोड कुनै भरियाको हुँदैन’ बुधबारको प्रतिनिधिसभा बैठकमा सांसद अमरेशकुमार सिंहले भने । स्वतन्त्र सांसद सिंहको जस्तै सिन्धुपाल्चोकबाट निर्वाचित सांसद माधव सापकोटाले पनि यो प्रकरण उठाए । ‘डलर र युरो गरेर २५ करोड रुपैयाँ बरामद भएको बाहिर आएको छ ।

यो घटनाले सिंगो देशलाई तरंगित बनाएको छ । यो घटनाले संगठित अपराध र तस्करीको जालो कुन स्तरसम्म झांगिरहेको छ भन्ने प्रस्ट हुन्छ,’ सांसद सापकोटाले भने । २५ करोड प्रकरणको गम्भीरतापूर्वक छानबिन हुनुपर्ने माग बुधबारको प्रतिनिधिसभा बैठकमा उठ्यो । यो प्रकरणले संसदसम्म चर्चा पाउँदा २५ करोडसहित पक्राउ परेका कुसाङ लामाको गाउँमा भने सुनसान छ । भोटेकोशी गाउँपालिका–१ का वडाध्यक्ष साङबु लामा भन्छन, ‘काठमाडौं संसद्सम्म चर्चा पायो होला ।

यता त सुनसान छ । मलाई एक–दुई जनाले फोन गरे, त्यति नै हो । गाउँघरमा केही हल्लाखल्ला छैन ।’वडाध्यक्ष लामाले २५ करोडसहित पक्राउ परेका आफ्नै वडाका ४३ वर्षीय फुच्चे भनिने कुसाङलाई राम्रोसँग चिन्ने बताउँछन् । उनको सबै परिवार र बा–आमासँग समेत राम्रो चिनजान रहेका वडाध्यक्ष साङबुले पनि २५ करोडको हैसियत भएका व्यक्ति कुसाङ नरहेको बताएका छन् । यसअघि प्रहरीले समेत कुसाङ भरिया मात्रै रहेको बताए पनि अब यो २५ करोडका मालिक को हुन् भन्ने चासो बढेको छ ।

यही विषयमा बोल्दै सांसद सिंहले मालिक पत्ता लगाउनुपर्ने बताए । २५ करोडका मालिक खोजीको विषय संसदसम्म पुग्दा न भरियाले मालिकको नाम लिएका छन् न प्रहरीले नै भन्न सकेको छ । बरु सूचना भए हामीलाई सहयोग गर्नुस् न भन्ने बाहेक प्रहरी अधिकारीहरू औपचारिक रुपमा यस विषयमा बोल्दैनन् । प्रहरीको दाबीअनुसार पक्राउ परेका भरियाले भने आफूलाई सामाखुसीमा एक चिनियाँ नागरिकले उक्त रकम दिएको दाबी गरेका छन् ।

तरको स्वतन्त्र पुष्टि प्रहरीले गर्न सकेको छैन । चालकमाथिको सिलिङमा फल्स बटम बनाएर राखेको अवस्थामा गाडिसहित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति १० बजेतिर झोरबाट उनलाई पक्राउ गरेको थियो । उक्त ट्रक नुवाकोट हुँदै त्रिशुली निस्केर रसुवागढी हुँदै केरुङ जाने तयारीमा रहेको प्रहरीको दाबी छ । टोखामा बरामद २५ करोडको ‘नेक्सस’ सुन कारोबारीसँग
२५ करोड बराबरका डलर बरामद भएपछि यसको रुट र पुग्ने गन्तव्य, डलरसँगै पक्राउ परेका व्यक्तिको पृष्ठभूमि र पक्राउ परेकाको बयानलाई आधार बनाउँदै प्रहरीले २५ करोडको ‘नेक्सस’ सुनसँग जोडेको छ ।

रसुवाबाट सीमापार गरेर अवैध रकम चीन पुग्ने र उताबाट सुन खरिद गरेर ल्याउने गरेको प्रहरीको दाबी छ । डलरलाई सुनसँग जोडेको प्रहरीले यसका मालिकका बारे भने केही खुलाएको छैन । प्रहरी उच्च स्रोतका अनुसार २५ करोडका मालिक नेपाली नागरिक नै रहेको आशंका गरिएको छ । २५ करोडका मालिक नेपाली नागरिक रहेको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ । यसअघि सुन प्रकरणमै मुद्दा चलेर छुटेका व्यक्ति रकम हुनसक्ने भन्दै प्रहरी ती नागरिकलाई अनुसन्धानको राडरमा राखेको छ ।

अहिले प्रहरीले त्यही कोणमा अनुसन्धान गरिरहेको छ । प्रहरी उच्च स्रोतले अलाइनखबरसँग भन्यो, ‘यसका मालिक नेपाली नागरिक हुनसक्ने अहिलेसम्मको अनुसन्धानले देखाएको छ । अहिले यही कोणबाट अनुसन्धान गर्दैछौं । प्रहरीले अहिले २५ करोड रुपैयाँका मालिक रहेको आशंकमा यसअघि एक पटक सुन तस्करीकै मुद्दा चलेका व्यक्तिमाथि केन्द्रित भएर अनुसन्धान गरेको छ । प्रहरीका अनुसार ती व्यक्तिविरुद्ध यसअघि राजश्व अनुसन्धान विभागले मुद्दा चलाएको थियो । त्यतिबेला उनी धरौटीमा रिहा भएका थिए । उक्त रकम उनै व्यक्तिको हुनसक्ने आशंकमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

यता, प्रहरीले मंगलबारको पत्रकार सम्मलेनमा भने २५ करोडसहित पक्राउ परेका व्यक्ति यसअघि समते ७ किलो सुनमा पक्राउ परेर जेल गएका व्यक्ति रहेको आपराधिक प्रवृत्र् िरहेकाले केही नखुलाउँदा मालिक पहिचान गर्न गाह्रो भएको बताएको थियो ।

गाडी मालिकमै आशंका
भरिया कुसाङको आर्थिक अवस्था केलाउने हो भने यो गाडी नै किन्ने हैसियतामा रहेरनरहेको आशंका देखिने प्रहरी अधिकारीहरू बताउँछन् । सामान्य किसान परिवारका कुसाङले चलाएको ट्रक उनका आमाको नाममा रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्य बताउँछन् । पक्राउ परेका कुसाङले भने प्रहरी समक्ष उक्त ट्रक भाइले खरिद गरेर आमाको नाममा पास गरेको बताएका दाबी गरेका छन्

उनको परिवारमा बा–आमा, चार छोरा र एक छोरी छन् । २५ करोडसहित टोखाबाट समातिएका लामालाई राजस्व अनुसन्धान पठाइयो । भोटेकोशी गाउँपालिका–१ का वडाध्यक्ष साङबुका अनुसार कुसाङका दुई दाइ पनि चालकको काम गर्छन् । भाइ भने अहिले गाउँमा नरहेको उनले बताए । ‘सामान्य परिवारका मान्छे हुन् । गाउँमा खेती किसानी गरेर जिविकोपार्जन गर्छन् । प्रहरीले पक्राउ गरेपछि मात्रै आमाको नाममा ट्रक रहेछ भन्ने थाहा पाएँ,’ वडाध्यक्ष साङबु भन्छन् ।

प्रहरीले समेत उनको आर्थिक अवस्था कमजोर रहेको सूचना पाएपछि ट्रक खरिदबारे समेत अनुसन्धान अघि बढाएको छ । उक्त ट्रक समेत सुन तस्करको समूहले खरिद गरेर प्रयोग गर्न दिएको आशंका गर्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
राजस्व अनुसन्धान गर्दै
प्रहरीका साथै यो प्रकरणको अनुसन्धान राजस्वले पनि सुरु गरेको छ । प्रवक्ता आचार्यका अनुसार कुसाङलाई मंगलबार नै युरो, डलर र ट्रकसहित राजश्व अनुसन्धान विभागको कार्यालय हरिहर भवन, ललितपुर बुझाइएको छ ।

उनीमाथि राजस्व छली तथा विदेशी मुद्राको कारोबार गरेको हुँदा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को कसुरमा उच्च अदालत पाटनबाट म्याद लिएर विभागले अनुसन्धान अघि बढाएको छ । कुसाङलाई ना. ७ ख १६५२ नम्बरको ट्रकसहित प्रहरीले झोरबाट पक्राउ गरेको थियो । उक्त ट्रकमा २५ करोड १९ लाख २४ हजार (५) रुपैयाँ बराबरका यूरो र अमेरिकी डलर बरामद भएको थियो ।

उनै कुसाङ यसअघि १३ पुस २०७३ मा ७ किलो सुनसहित कलंकीबाट समातिएका थिए । त्यतिबेला पनि रसुवा नाकाबाट गल्छी हुँदै काठमाडौं आएको बा. ८च ७४२० नम्बरको हाइलक्स गाडीबाट ७ किलो सुन बरामद भएको थियो । कुसाङले चलाएको गाडीको एयरफिल्टरमा लुकाएको अवस्थामा सुन बरामद भएको थियो । यो प्रकरणमा उनी ५ वर्ष जेल बसेर २०७८ मा छुटेका थिए । अहिले फेरि ठूलो मात्रामा डलर र युरोसहित पक्राउ परेका हुन् ।