५ चैत, काठमाडौं । धापाखेलस्थित कान्तिपुर इन्जिनियरिङ कलेजमा अनेरास्ववियुबाट अध्यक्षको उम्मेदवार बनेका सन्देश घिमिरे आमरण अनशनमा बसेका छन् । स्ववियु चुनावको माग राखेर उनी अनशनमा बसेको कलेजमा अध्ययनरत एक विद्यार्थीले जानकारी दिए । अखिल क्रान्तिकारीले मौन अवधिमा उमेदवारीमाथि प्रश्न गरेर कलेज प्रशासनलाई विज्ञप्ति बुझाएको थियो । सोही विज्ञप्तिका कारण कलेज प्रशासनले चुनाव स्थगित गरेको ती विद्यार्थीको भनाइ छ ।
चुनाव स्थगित भएपछि चुनावको माग राखेर घिमिरे अनशनमा बसेका हुन् । अखिल क्रान्तिकारीले अनेरास्ववियुले मनोनयनको दिन ढिला गरी मनोनयन गरेको आरोप लगाएको छ । तर यसमा सत्यता नरहेको अनेरास्ववियुले दाबी गरेको छ । निर्वाचन समितिले पनि अखिलक्रान्तिकारीको विज्ञप्तिका कारण प्रक्रिया रोकिएको जनाएको छ । ‘मनोनयनको दिन तीन बजेभित्र नै मनोनयन भएको हो । चुनावी प्रक्रिया अगाडि बढेको थियो ।
दाबी विरोधको समय सकिएको थियो । मौन अवधि सुरु भएपछि अखिल क्रान्तिकारीले इलेक्ट्रोनिक भोटिङ र ढिला मनोनयन भएको विषय उठाएर विज्ञप्ति बुझाएको हो,’ निर्वाचन समितिका एक सदस्यले भने । उनका अनुसार अखिल क्रान्तिकारी मतपत्रमा सहमति गर्न पनि आएको छैन । ‘अखिल क्रान्तिकारीको सहमति नभएपछि मतपत्र छपाइ भएको छैन । नयाँ मिति तोकेर चुनाव गर्न सहमतिका लागि बोलाउँदा पनि क्रान्तिकारी आएको छैन,’ उनले भने, ‘सहमतिको प्रयास भइरहेको छ । सबै विद्यार्थी सहमत भएमा निर्वाचन प्रक्रिया अगाडि बढ्छ ।’