फागुन ५,काठमाडौँ । काठमाडौंको टोखाबाट २५ करोड रुपैयाँसहित पक्राउ परेका कुशाङ लामा राजस्व छली र सुन तस्करीमा यसअघि ५ वर्ष जेल बसेको खुलेको छ । ना ७ ख १६५२ नम्बरको मालबाहक ट्रकमा लुकाएर राखिएको २५ करोड १९ लाख २४ हजार ९ सय ५० रुपैयाँसहित उनलाई गएराति प्रहरीले टोखा नगरपालिका–२ झोरबाट पक्राउ गरेको थियो । लामा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ का हुन् ।
क्याबिनमाथिको बायाँतिर फल्स बटम बनाई सबै रकम त्यहीँ लुकाएर राखिएको अवस्थामा बरामद गरेका हौं, आज पत्रकार सम्मेलनमा काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतले भने । प्रहरीले उनीबाट अमेरिकी डलर र युरो बरामद गरेको हो । गाडीका चालक रहेका उनी एक्लै थिए ।
सुन तस्करीमा २०७३ पुस १३ मा समातिएका लामा ५ वर्ष जेल बसेको एसएसपी बस्नेतले बताए । लामाले चलाएको गाडी उनको आमाको नाममा रहेको प्रहरीको भनाइ छ ।