५ चैत, काठमाडौं । रत्नराज्यलक्ष्मी (आरआर) क्यामपसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तिम चरणमा आएर स्थगित भएको छ । सबै तयारी पूरा भइसकेको अवस्थामा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले क्याम्पसको मूल गेटमा तालाबन्दी गरेपछि चुनाव स्थगित गरिएको हो ।
निर्वाचन समिति संयोजक महेश भट्टराई र क्याम्पस प्रमुख डा. पद्मकुमार अधिकारीले सूचना जारी गर्दै सम्पूर्ण तयारी भइसकेको अवस्थामा तालाबन्दी हुँदा प्रतिकूल अवस्था सिर्जना भएकोले निर्वाचन स्थगित गरेको बताएका छन् ।
सरोकारवाला पक्षासँग छलफल गरी अर्काे मिति तोक्ने गरी हाललाई निर्वाचन स्थगित गरिएको निर्वाचन सिमित संयोजक भट्टराईले बताएका छन् । अनेरास्ववियुले सोमबार मध्यराति क्याम्पसको प्रवेशद्वारमै ताला लगाएको हो । क्याम्पस प्रशासनले फर्जी कार्ड (नक्कली परिचयपत्र) जारी गरेको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको दाबी गरेको छ ।
यसैबीच सुरक्षाको कारण देखाउँदै अमृत साइन्स क्याम्पसमा आज हुने भनिएको स्ववियु निर्वाचन स्थगित गरिएको छ । निमित्त क्याम्पस प्रमुख होमबहादुर बानियाँले सूचना टाँस गरेर निर्वाचन स्थगित गरिएको जानकारी दिएका छन् ।
सोमबार आह्वान गरिएको बैठकमा केही विद्यार्थी सङ्गठन अनुपस्थित भएकाले निर्वाचन स्थगित गरिएको सूचनामा उल्लेख छ । त्रिविको विश्वविद्यालय क्याम्पसमा पनि आज मतदान हुने छैन । प्रक्रिया केही ढिलो सुरु भएकोले विश्वविद्यालय क्याम्पसमा ८ गते मतदानको मिति तोकिएको छ ।