त्रिभुवन विश्वविद्यालयमा स्ववियु निर्वाचनको इतिहास हेर्दा वि.सं. २०१८-०१९ सालदेखि प्रत्यक्ष मतदान प्रणालीको आधारमा निर्वाचन प्रारम्भ भएको देखिन्छ।
वि.सं. २०३० सालसम्म प्रत्येक वर्ष स्ववियु निर्वाचन हुने गरेकोमा वि.सं. २०३६ सालदेखि प्रत्येक दुई वर्षमा २०६५ सालसम्म प्रत्यक्ष प्रणालीबाट निर्वाचन भएको देखिन्छ।
वि.सं. २०७३ सालदेखि मिश्रित प्रणालीमा आधारित निर्वाचनको परिपाटी प्रारम्भ भएको हो भने उम्मेदवारको उमेरहद- २८ वर्ष कायम गरिएको छ। वि.सं. २०७३ सालमा उपत्यकामा ९ ओटा र उपत्यकाबहिर १७ ओटा क्याम्पसमा मात्र स्ववियु निर्वाचन सम्पन्न भएको थियो।
वि.सं. २०७९ सालमा ५० ओटा आङ्गिक क्याम्पस र ३०० बढी सम्बन्धन प्राप्त क्याम्पसहरूमा स्ववियु निर्वाचन सम्पन्न भएको थियो। विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीद्वारा विश्वविद्यालयको नीतिनिर्माण र कार्यान्वयनमा प्रतिनिधित्व सुनिश्चित गर्न, क्याम्पसहरूमा शैक्षिक वातावरण कायम गर्न र विद्यार्थीको चौतर्फी विकास गर्न एउटा वैधानिक संस्थालाई व्यवस्थित गर्न युनियनको नियमित निर्वाचन प्रक्रियालाई अगाडि बढाइएको हो।
त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीका लागि प्रत्येक क्याम्पसमा स्ववियु गठन गर्नुको उद्देश्य विद्यार्थीको हक, हितको संरक्षण तथा सम्वर्द्धनमा लाग्ने, क्याम्पसमा बौद्धिक र चारित्रिक विकासका कार्यक्रम बनाई कार्यान्वयन गर्ने, विद्यार्थीमा अनुशासन कायम राख्दै पठनपाठनका लागि उपयुक्त वातावरण तयार गर्ने र अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीमा सिर्जनात्मक तथा रचनात्मक क्षमताको विकास गर्नु हो।
स्ववियु कार्यसमिति गठन र रिक्त पदपूर्ति सम्बन्धमा विद्यार्थी संख्या २०० जनासम्म भएका प्रत्येक क्याम्पसमा ११ सदस्यीय, २०१ देखि १००० जनासम्म विद्यार्थी भएको क्याम्पसमा १५ सदस्यीय, १००१ देखि ३००० जनासम्म विद्यार्थी भएको क्याम्पसमा १९ सदस्यीय र ३००१ जनाभन्दा बढी विद्यार्थी संख्या भएको क्याम्पसमा २१ सदस्यीय स्ववियु कार्य समिति रहने व्यवस्था छ।
जम्मा २१ सदस्यीय स्ववियु कार्यसमितिमा प्रत्यक्षबाट ११ जना (अध्यक्ष १, सचिव १, कोषाध्यक्ष १ र ८ जना सदस्य) र समानुपातिकबाट १० जना सदस्यको सदर मतलाई जम्मा सदस्य संख्याले भाग गरी आउने भागफलको आधारमा र अन्तमा शेष बढी भएअनुसार संघ-संगठन-समूहबाट सदस्य निर्वाचित हुने व्यवस्था छ।
यसरी २१ जनाको उपस्थितिमा निर्वाचन समितिले पुनः निर्वाचन गराउँदा समानुपातिकका १० जनामध्येबाट एक जना उपाध्यक्ष र एक जना सहायक सचिवका लागि २१ जनाको उपस्थितिमा निर्वाचन हुनेछ र यसरी बनेको स्ववियु कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।