२७ फागुन, काठमाडौं । मोबाइलमा नोटिफिकेसन बज्यो । हत्तपत्र् निकालेर हेर्नुभयो तर खासै काम लाग्ने सूचना केही पनि फेला पर्दैन । तपाईंलाई यस्तो भइरहेको छ ? फोनबाट केही टाढा हुँदा तपाईंलाई एकप्रकारको बेचैनी महसुस हुन्छ ? यदि त्यसो हो भने, तपाईंले सोचेभन्दा बढी नै समस्या भइसकेको हुनसक्छ अर्थात् तपाईं मोबाइलको लतमा फसिसकेको हुनसक्नुहुन्छ ।
हालै भएको एक अध्ययनले स्मार्टफोनको लत रूसी वैज्ञानिक इभान पाभ्लोभको कुकुरहरूमाथि गरिएको प्रसिद्ध प्रयोग जस्तै रहेको निष्कर्ष निकालेको छ । हाम्रो दिमागले सूचनाको घन्टीमा दिएको प्रतिक्रिया र पाभ्लोभका कुकुरहरूको व्यवहार उस्तै भएको देखिएको अध्ययनको निष्कर्ष छ । पाभ्लोभको अध्ययनमा एक साधारण घण्टीको आवाजको प्रतिक्रियामा कुकुरहरूलार्ई याल निकाल्न सिकाइएको थियो, ठीक त्यस्तै हाम्रो मस्तिष्क पनि नोटिफिकेसनको ‘पिङ’ सुन्दा स्वचालित रूपमा प्रतिक्रिया दिन थाल्छ ।
अनुसन्धानमा ७८ प्रतिशत सहभागीहरूले घण्टामा कम्तीमा एक पटक आफ्नो फोन जाँच्ने गरेको स्वीकारे, कतिपयले त दिनभरि ५० पटकसम्म फोन अनलक गर्ने गरेको बताए पाभ्लोभका कुकुरहरूले झैं हाम्रो दिमागले अब सूचनाको पूर्वानुमानमा डोपामाइन रिलिज गर्छ । डोपामाइन नामको एकप्रकारको न्यूरोट्रान्समिटर अर्थात् रासायनिक सन्देशवाहकको श्राव डोपामाइन रिलिज हो ।
बुझ्ने भाषामा भन्दा डोपामाइन श्राव हुनु भनेको हाम्रो दिमागले हामीलाई ‘राम्रो महसुस’ गराउने रसायन उत्पादन गर्नु हो । तर, डोपामाइनको अत्यधिक रिलिजले एकप्रकारको लत लाग्न सक्छ । उदाहरणका लागि ड्रग्स, अल्कोहल र जुवा जस्ता गतिविधिहरूले डोपामाइनको अत्यधिक रिलिज गर्दछ, जसले लत निम्त्याउँछ । अहिले मोबाइलको आदत पनि यही सूचीमा थपिएको छ ।
मोबाइलमा कुनै नोटिफिकेसनको आवाज आउनासाथ हामीलाई त्यस्तै केही नयाँ सूचनाको आशा हुन्छ तर मोबाइल चेक गर्दा त्यस्तो देखिंदैन । इभान पेट्रोभिच पाभ्लोभ एक रुसी फिजियोलोजिस्ट हुन् । उनले शास्त्रीय अनुबन्धन सम्बन्धी मनोवैज्ञानिक सिद्धान्त प्रतिपादन गरेका छन्, जसले सिकाइको प्रक्रिया सिकाउँछ ।