फागुन २६, काठमाडौं । बाजुराको खप्तड छेडेदह गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । खप्तड छेडेदह गाउँपालिकाबाट बूढीगङ्गा नगरपालिका आउँदै गरेको भे २ त १५८८ नम्बरको ट्याक्टर अनियन्त्रित भएर पल्टिँदा बूढीगंगा नगरपालिका–४, खोडालबाडाका अन्दाजी ३३ वर्षीय पदमबहादुर रावतको मृत्यु भएको हो ।
मृतक रावत ट्याक्टर चालक रहेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी नायब उपरीक्षक जनक बोहराले जानकारी दिए । उनका अनुसार, ट्याक्टरमा सवार चार जनामध्ये चालक रावतका छोरा सञ्जय रावतलाई सामान्य चोट लागेको छ । घाइते सञ्जयको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको निमित्त प्रहरी नायब उपरीक्षक बोहराले बताए ।
अन्य तीन जना सकुशल छन् । ट्याक्टरको अगाडिको भाग करिब २५० मिटर तल सडकमा खसेको र ट्राली ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।