पाठेघरमा हुने दुईवटा नली जसलाई हामी डिम्बाशय भन्छौं । डिम्बाशयमा धेरै प्रकारका फोका अर्थात् ‘सिस्ट’ हुन सक्छन् । ‘सिस्ट’ एक प्रकारको झिल्लीदार थैली हो जसमा तरल पदार्थ, हावा वा अन्य पदार्थ हुन्छ ।सामान्यतया महिलाको पाठेघरमा महिनामा एउटा अन्डा ठूलो हुने क्रममा फुट्छ । कहिलेकाहीँ त्यो अण्डा नफुटी फोकाको रुपमा बसिदिन सक्छ । त्यस्तोलाई ‘फलिकुलर सिस्ट’ अर्थात् सामान्य ‘सिस्ट’ भनिन्छ ।
लक्षण
‘सिस्ट’ भएमा पेट फुल्ने, तल्लो पेट दुख्ने वा ढाडको तल्लो भाग दुख्ने, महिनावारी गडबडी हुने, खान रुची नहुनेजस्ता लक्षण देखिन्छ । ‘सिस्ट’ साना उमेरका बालिकामा पनि देखिन सक्छ । सानै उमेरमा पेट दुख्ने, पेट फुल्ने, खान रुची नहुने समस्या देखिएमा ‘सिस्ट’को कारण पनि हुन सक्नेतर्फ सचेत हुनुपर्छ । साथै महिनावारी सुकिसकेका महिलामा पनि ‘सिस्ट’को समस्या हुनसक्छ । त्यसैले पेट दुख्यो वा माथिका जस्ता समस्या देखिएको छ भने एकपटक भिडियो एक्स–रे गरेर हेर्दा राम्रो हुन्छ । कहिलेकाहीँ पेट दुखेको भन्दै यतिकै बस्दा क्यान्सर भइसकेको पाइन्छ । त्यसैले यस्ता केही लक्षण देखिएका छन् भने समयमै उपचार गराउनुपर्छ ।
उपचार
‘सिस्ट’को प्रकृति अनुसार यसको उपचार गरिन्छ । यदि ‘सिस्ट’ सानो र सामान्य खालको छ भने यसलाई कुनै उपचारको जरुरी हुँदैन । यो आफै फुटेर जान्छ वा सामान्य गर्भ निरोधक औषधि खान दिएर पनि निको पार्न सकिन्छ । सामान्य भए पनि इन्फेक्सन भएको छ वा छैन भनी परीक्षण भने गराइराख्नुपर्छ । तर, ‘सिस्ट’ धेरै ठूलो छ भने यसले डिम्बाशयमा धेरै अवरोध वा इन्फेक्सन हुन सक्ने भएकाले चिकित्सकको सल्लाह अनुसार उपचार गराउनुपर्छ । यदि धेरै ठूलो छ र असामान्य अवस्थाको छ भने समयमै शल्यक्रिया गरी निकाल्नुपर्छ ।