• बैशाख ११ २०८२, बिहीबार

नेपालमै पहिलोपटक मिडक्याब्ज प्रविधिबाट मुटुको सफल शल्यक्रिया

फाल्गुन २४ २०८१, शनिबार

काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डा.अनिल भट्टराईको नेतृत्वमा नेपालमा पहिलोपटक मिनिमल्ली इन्भेसिभ डिरेक्ट कोरोनरी आर्टरी बाइपास ग्राफ्टिङ (मिडक्याब्ज) प्रविधिबाट मुटुको सफल शल्यक्रिया भएको छ ।

तनहुँको म्याग्दे गाउँपालिका–१ घर भएका एक ४५ वर्षीय पुरूषको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्स्प्लान्ट सेन्टरमा मिडक्याब्ज प्रविधिबाट नेपालमै पहिलोपटक मुटुको सफल शल्यक्रिया सम्पन्न भएको अस्पतालले जनाएको छ ।

ती बिरामीको चार वर्षअघि साउदी अरबमा ७० प्रतिशतभन्दा बढी मुटुको नशा बन्द भएको पत्ता लागेको थियो । र, साउदीमै मुटुको नशा खोल्न स्टेन्टिङ गरिएको थियो। तर, उक्त नशा पुनः बन्द भएपछि उनी उपचारको लागि नेपालमा फर्किएको जनाइएको छ ।

उनको गत बिहीबार उच्चतम प्रविधिबाट उक्त शल्यक्रिया गरिएको हो । मनमोहन सेन्टरका सिटिभिएस विभागीय प्रमुख एवम् वरिष्ठ मुटु शल्य चिकित्सक डा.अनिल भट्टराईको नेतृत्वमा उक्त शल्यक्रिया सम्पन्न भएको हो ।

अहिले ती बिरामीको अवस्था राम्रो रहेको अस्पतालले जनाएको छ । उनलाई आइसियुबाट अहिले नर्मल वार्डमा सारिएको छ । एक/दुई दिनको अस्पताल बसाइपछि बिरामीको डिस्चार्ज गरिने उपचारमा संलग्न चिकित्सक डा. भट्टराईले जानकारी दिए ।