• फाल्गुन २८ २०८१, बुधबार

गर्भवती महिलाले मोबाइल प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु:

फाल्गुन २४ २०८१, शनिबार

पछिल्लो समय मोबाईलले आफ्नो छुट्टै संसार बनाउदै गरेको छ । मोबाईल प्रयोगकर्ताहरु दिनहुँ बढिरहेका छन् । जसका कारण हामी चाहेर पनि मोबाइललाई आफ्नो जीवनबाट टाढा राख्न नसक्ने अवस्थामा पुगेको छौँ ।

बालबच्चा, युवादेखि वृद्धवृद्धासम्मको हातमा मोबाइल फोन भएकै हुन्छ । धेरैजसो मानिसमा मोबाइल फोनको लत पनि बसेको हुन्छ । यस्ता व्यक्तिहरुको सूचीमा गर्भवती महिला पनि पर्छन् ।

तर, मोबाइल फोनको प्रयोगको नकारात्मक असर गर्भवती महिलाको शरीरमा मात्रै नभइ गर्भमा रहेको बच्चामा पनि पर्छ ।

मोबाइल फोन लामो समयसम्म प्रयोग गर्दा गर्भवती महिलालाई मात्रै असर पर्दैन । एक अध्ययनलाई मान्ने हो भने गर्भवती महिलाले लामो समयसम्म मोबाइल फोन प्रयोग गर्दा उनको पेटमा भएको बच्चाको आनीबानीसँग सम्बन्धित समस्याहरु आउन सक्नेछन् ।

डेनमार्कमा यस सम्बन्धमा गरिएको एक अध्ययनले प्रसव पूर्व तथा प्रसव पछाडि गर्भवती महिलाले मोबाइल फोन प्रयोग गर्दा बच्चाको व्यवहार र यससँग जोडिएका समस्याका बीच के सम्बन्ध छ भन्नेबारे बुझ्ने प्रयास गरिएको थियो ।

बढी सक्रिय तथा आनीबानीसम्बन्धीको सिकार: यो अध्ययन सात वर्षका बच्चा भएका आमाहरुमाथि गरिएको थियो । अध्ययनका दौरान उनीहरुको बच्चाको स्वास्थ्य तथा आनीबानीका साथै ती महिलाहरु स्वयम् गर्भवतीका बेला तथा बच्चा जन्माइसकेपछि कति लामो समयसम्म मोबाइल चलाउँथे भन्ने प्रश्न सोधिएको थियो । उनीहरुको उत्तरलाई विश्लेषण गर्दा अध्ययनले के देखायो भने गर्भवती भएका बेला तथा सुत्केरी भइसकेपछि लामो समयसम्म मोबाइल चलाउने महिलाको बच्चामा बढी क्रियाशिलता र आनीबानीसँग जोडिएका केही समस्याहरु देखा परेको थियो ।

गर्भवती महिलाले ध्यान दिनु पर्ने कुराहरु
– मोबाइल फोनमा लामो समयसम्म कुराकानी गर्नुको सट्टा टेक्स्ट म्यासेज पठाउनुहोस्, वा ल्याण्डलाइन फोनको प्रयोग गर्नुहोस् ।
– गर्भवती भएको समयमा सामाजिक सञ्जाल हेर्दा धेरै स्क्रोल गरेर नहेर्नुहोस् ।
– सम्भव भएसम्म मोबाइल फोनमा बोल्दा ह्याण्डस् फ्रि वा हेडफोन प्रयोग गर्नुहोस् । जसले गर्दा टाउँको तथा शरीर नजिक सकेसम्म विकिरणको प्रभाव कम परोस् ।