• चैत्र २३ २०८१, आईतवार

हेमोफिलियाको बिरामीप्रति सरकारले ध्यान दिएन : प्रतिमा गौतम

फाल्गुन २३ २०८१, शुक्रबार

२३ फागुन, काठमाडौं । नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले हेमोफिलियाका बिरामीले असैह्य पीडा भोगिरहनु परेको बताएकी छन् । प्रतिनिधिसभाको बैठकमा शुक्रबार बोल्दै सांसद गौतमले हेमोफिलियाका विरामभीले निःशुल्क औषधि प्राप्त गर्न नसकेको सुनाइन् । उनले भनिन,‘राज्यद्वारा औषधिको व्यवस्था हुन नसक्दा बिरामीले असैह्य पिडा भोगिरहेका छन् भने,

अर्कोतिर बिरामीको अपाङ्गता र मृत्युदर पनि बढीरहेको अवस्था छ ।’ पछिल्लो २ महिनामा २ जना बिरामीको मृत्य भएको गौतमले सदनमा जानकारी गराइन् । ‘बिरामीले निरन्तर प्रयोग गर्नुपर्ने औषधि नेपालमा किन्न पनि पाइँदैन । बाहिरबाट ल्याउनुपर्छ । पछिल्लो तथ्यांक अनुसार नेपालमा हेमोफिलियाको रोगीको संख्या ४,९३७ जना रहेका छन,’ सदनमा जानकारी गराइन् ।

हेमोफिलिया रोग लागेको बिरामीलाई शरीरको कुनै पनि भागमा रक्तस्राव हुँदा नरोकिने हुन्छ । अपाङ्गताभित्र हेमोफिलियालाई पनि एउटा वर्गमा समेटिएको छ । यो रोग लागेका बिरामीले नियमित प्रयोग गर्नुपर्ने औषधिलाई निःशुल्क प्राप्त हुने औषधिमा राखिएको छ ।