• फाल्गुन २२ २०८१, बिहीबार

प्रमोद खरेलले जिते प्रतिलिपि अधिकारको मुद्दा

फाल्गुन २१ २०८१, बुधबार

काठमाडौँ — उच्च अदालत पाटनले विन्ध्यवासिनी म्युजिक प्रालिका सञ्चालक दम्पती सुवास रेग्मी र लिला शर्माविरुद्धको प्रतिलिपि अधिकार उल्लंघनको मुद्दामा काठमाडौँ जिल्ला अदालतको फैसला सदर गरेको छ । उच्चका न्यायधीशद्वय लेखनाथ पौडेल र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासले मंगलबार उक्त मुद्दामा सुनुवाइ गर्दै जिल्ला अदालत काठमाडौँको निर्णय सदर गर्ने फैसला सुनाएका हुन् ।

विन्ध्यवासिनी म्युजिक प्रालिले प्रतिलिपि अधिकार उल्लंघन गरेको भन्दै गायक प्रमोद खरेलले २०७७ सालमा जाहेरी दिएका थिए । उक्त मुद्दामा काठमाडौँ जिल्ला अदालतले प्रतिलिपि अधिकार उल्लंघनको कसुरमा दोषी ठहर गर्दै १० हजार रुपैयाँ जरिवाना र सर्जकलाई एल्बम् फिर्ता गर्न आदेश दिएको थियो । तर सरकारी वकिलले सजाय कम भएको भन्दै उच्च अदालत पाटनमा पुनस् मुद्दा दायर गरेका थिए ।

गायक खरेल निवेदक र नेपाल सरकार वादी रहेको मुद्दामा खरेलका पक्षबाट अधिवक्ता सज्जन वरसिंह थापा, शालिकराम सापकोटा र ईश्वर अधिकारीले बहस गरेका थिए । रेग्मीले जिल्ला अदालत काठमाडौँमा विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा अर्काे पनि मुद्दा खेपिरहेका छन् । रेग्मीले पनि सजाय खारेज गरी पाऊँ भन्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए । निर्णयको पूर्णपाठ भने आउनँ बाँकी छ ।

प्रतिलिपि अधिकार उल्लंघनको कसुरमा संगीततर्फ यो नै पहिलो मुद्दा हो । यो मुद्दामा प्रमोदको जितेसँगै संगीत क्षेत्रमा नयाँ नजिर समेत बसेको छ ।
के थियो घटना ?

गायक खरेलले ‘प्रणय’ नामको एल्बम् २०६६ मा सार्वजनिक गरेका थिए । एल्बम्का चारवटै गीतमा गीतकार र संगीतकार पनि प्रमोद नै थिए । उनले विन्ध्यवासिनी म्युजिक प्रालिसँग पाँच वर्षका लागि गीतको बिक्री वितरण तथा बजार प्रवद्र्धन गर्न २०६६ चैत्र २७ गते सम्झौता गरेका थिए । सम्झौतामा प्रमोद खरेलनै प्रतिलिपि अधिकारको धनी हुने उल्लेख थियो । तर पाँच वर्षपछि पनि विन्ध्यवासिनीले नै गीतको बिक्री वितरण गरिरह्यो । प्रमोदले करार अवधि पूरा भइसकेको भन्दै आफ्नो एल्बम् फिर्ता मागे ।

सुवास र प्रमोदबीचको विवाद सतहमा आयो । सुवासले प्रमोदलाई गालीगलौज गर्दै सामाजिक सञ्जालमा जथाभावी लेख्न थाले । २०७७ सालमा प्रमोदको पक्षमा ५७ जना गीत सर्जकहरूले हस्ताक्षर गर्दै प्रहरी परिसर टेकुमा निवेदन दिएका थिए । त्यतिबेला कानुनी रुपमा सञ्चालक सुवास रेग्मी नभई रेग्मीकी श्रीमती लिला शर्मा थिइन् । उनलाई प्रहरीले पक्राउ गरेको थियो । लिला २ लाख ७५ हजार धरौटी रकममा छुटिन् ।

सुवास गाली गलौजमा उत्रिन नरोकिएपछि उनीविरुद्ध गीतकार महेशचन्द्र आचार्यले विद्युतीय स्वरुपमा आफ्नो चरित्र हत्या गरेको भन्दै रेग्मीविरुद्ध ब्यूरोमा उजुरी दिए । ८ फागुन २०७९ मा थाइल्याण्डबाट नेपाल आउँदै गर्दा रेग्मीलाई केन्द्रीय साइबर ब्यूरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ र्गयो । उनी ७५ हजार धरौटीमा छुटेका थिए ।