फागुन १७, काठमाडौं । जुम्लामा वर्षा र हिमपात, किसानलाई राहत हिमपातपछि सेताम्मे देखिएको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाको क्षेत्र । हिमपातपछि बालीनाली सप्रिने आशमा स्थानीय किसानहरू खुसी भएका छन् ।
शुक्रबार बिहानैदेखि हिमपात र वर्षा हुँदा जुम्लाका किसानलाई राहत पुगेको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने जिल्लामा यस वर्ष ढिलोगरी हिउँ र वर्षा भएको हो । उच्च ठाउँमा एक फिट जति हिउँ परेको पातारासी गाउँपालिका–१ का स्थानीयवासी मुनबहादुर एडीले जानकारी दिए ।
ढिलोगरी वर्षासँगै भएको हिमपातपछि आकाशे पानीको पर्खाइमा रहेका किसान भने खुसी भएका छन् । गत असोजदेखि पानी नपर्दा हिउँदे बाली सुक्दै गएका थिए ।जिल्लाका आठवटै स्थानीय तहमा धेरैजसो ठाउँमा सिँचाइको अभाव छ ।
जहाँ किसानले आकाशे वर्षातका भरमा जौँ, गहुँ बाली लगाउने गर्छन् । हिमपातका कारण जौँ, गहुँलगायत नयाँ स्याउका बिरुवा लगाउन निकै सहज भएको हिमा गाउँपालिका–६ का स्थानीय किसान दुर्गा शाहीले बताइन् ।
जिल्लामा स्याउ र ओखरका बिरुवा रोप्ने याम आएकाले हिमपातका कारण सहज भएको कृषि विकास कार्यालयका सूचना अधिकारी दीपकसिंह धामीले बताए । जुम्लालगायत माथिल्लो कर्णालीमा हिमपात भएसँगै हवाई सेवा अवरुद्ध भएको छ ।
साथै सदरमुकाम खलङ्गा बजारबाट चल्ने लामो तथा छोटा दूरीका सवारीसाधन फाट्टफुट्ट चलेको तिला कर्णाली यातायातले जनाएको छ । गत २४ घण्टामा जिल्लामा ३३ मिलिमिटर वर्षा भएको हावापानी फिल्ड कार्यालयले जनाएको छ ।