• फाल्गुन १७ २०८१, शनिबार

सार्वजनिक स्थानमा फोहोर फाले काठमाडौं महानगरले पाँच हजारदेखि १५ हजार रुपैयाँसम्म जरिवाना तिराउने

फाल्गुन १७ २०८१, शनिबार

काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फाल्ने जोकोहीलाई पाँच हजारदेखि १५ हजार रुपैयाँसम्म जरिवाना तिराउने भएको छ ।

कामपा वातावरण विभागका अनुसार, कामपा क्षेत्रका घर कम्पाउन्ड एवं परिसरको फोहोरमैला सडक, फुटपाथ तथा अरू सार्वजनिक स्थानमा फाल्ने, राख्ने वा थुपार्नेजस्ता कार्य गरे पाँच हजारदेखि १५ हजार रुपैयाँसम्म कारबाही गरिनेछ ।

कामपा वातावरण विभागका प्रमुख सरिता राईका अनुसार, जथाभावी फोहोर फाल्दा दुर्गन्धित हुनुका साथै नागरिकको जनस्वास्थ्यमा समेत गम्भीर असर गर्ने भएकाले पूर्ण रूपमा यस कार्यलाई प्रतिबन्ध गरिएको हो ।

सार्वजनिक स्थानमा फोहोर फालेको महानगरको अनुगमन टोलीले भेटे कामपाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा (च) बमोजिम कारबाही गरिनेछ ।

यसैबीच, कामपाले फोहोर व्यवस्थापन कार्यलाई थप प्रभावकारी बनाउन ३२ वटै वडामा ६ क्षेत्र निर्धारण गरी काम गर्ने भएको छ । फोहोर व्यवस्थापन थप सहज र प्रभावकारी बनाउन नयाँ व्यवस्था गर्न लागिएको विभागको भनाइ छ ।