• फाल्गुन १७ २०८१, शनिबार

युक्रेनलाई पैसा दिँदादिँदा अमेरिकी जनता थाकिसके : ह्वाइट हाउस प्रवक्ता लेभिट

फाल्गुन १७ २०८१, शनिबार

काठमाडौं । अमेरिकी संसद ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटले अमेरिकी जनता युक्रेनलाई पैसा दिँदा दिँदै थाकिसकेको बताएकी छिन् ।

ह्वाइट हाउस बाहिर पत्रकारहरूसँग कुरा गर्दै लेभिटले भनिन्, ‘उनी (युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की) यस युद्धको व्यावहारिक वास्तविकतालाई स्वीकार गर्न अस्वीकार गरिरहेका छन् । यो युद्ध धेरै वर्षदेखि चलिरहेको छ, उनका देशवासीहरू मरिरहेका छन् । र यो युद्धलाई आर्थिक सहयोग गरेर अमेरिकी जनता थाकेका छन् ।’

उनले थप भनिन्, ‘परिस्थिति जेलेन्स्कीको पक्षमा छैन, राष्ट्रपति ट्रम्पको पक्षमा छ । ट्रम्पको प्राथमिकता अघिल्लो अमेरिकी प्रशासन भन्दा फरक छ र उनी युद्धको अन्त्य चाहन्छन् तर जेलेन्स्की अहिले यो चाहन्छन् जस्तो लाग्दैन ।’

यसअघि शुक्रबार ह्वाइट हाउसको ओभल अफिसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच भएको भेटघाट चर्को बहसमा परिणत भएको थियो । यस बहसमा विश्वभरका नेताहरूले प्रतिक्रिया दिइरहेका छन् ।

यस मामिलामा अमेरिकाको विपक्षी डेमोक्रयाटिक पार्टीका धेरै नेताहरूले पनि राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले जेलेन्स्कीलाई ‘दुर्व्यवहार’ गरेको आरोप लगाएका छन् ।