१४ फागुन, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को गुइठेभिरमा इको भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । नारच्याङमा रहेको शिव मन्दिर जाने यात्रु चढेको भ्यान सडकबाट करिब एक सय ५० मिटर तल कालीगण्डकी किनारमा खसेर दुर्घटना भएको हो ।
बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ को सुकेबगरबाट नारच्याङतर्फ जाँदै गरेको बा. ६च ४९४४ नम्बरको भ्यान बिहीबार सडकबाट कालीगण्डकी नदीको किनारमा खसेको सीमा प्रहरी चौकी भुरुङ तातोपानीले जनाएको छ ।
भ्यानका चालकसमेत रहेकी अन्नपूर्ण–४ घरापकी अन्दाजी ४० वर्षीया सुनदेवी गौचन (सरिता)को घटनास्थलमै मृत्यु भएको सीमा प्रहरी चौकी भुरुङ तातोपानीका प्रमुख प्रहरी सहायक निरीक्षक रमेशप्रसाद अधिकारीले जानकारी दिए ।