• फाल्गुन १४ २०८१, बुधबार

प्रहरीद्वारा एकै महिनामा ५२ करोड बढी राजस्व संकलन

फाल्गुन १३ २०८१, मंगलवार

फागुन १३,काठमाडौँ । नेपाल प्रहरीले विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रणका क्रममा एकै महिनामा ५२ करोड ४७ लाख रुपैयाँ बढी राजस्व संकलन गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले गत माघमा देशभरबाट ५२ करोड ४७ लाख छ हजार आठ सय ७९ रूपैयाँ राजस्व संकलन गरेको जानकारी दिए ।

सबैभन्दा बढी अदालती फैसला कार्यान्वयनमा राजस्व संकलन गरिएको छ । फरार अपराधी पक्राउलगायतबाट मात्रै २३ करोड ९२ लाख ९१ हजार रुपैयाँ बढी राजस्व संकलन गरिएको छ । यो कुल राजस्व संकलनको ४५ प्रतिशतभन्दा बढी हो । त्यसपछि भन्सार छलिका मालसामान बरामदबाट १६ करोड २७ लाख रुपैयाँ राजस्व संकलन गरिएको छ ।

त्यसैगरी ट्राफिक कारबाहीबाट नौ करोड ५९ लाख रुपैयाँ, अवैध सुन चाँदी बरामदबाट एक करोड रुपैयाँ, हुण्डी कारोबार गर्नेबाट ३७ लाख रुपैयाँ राजस्व संकलन गरिएको प्रवक्ता आचार्यले बताए । उनका अनुसार स्रोत नखुलेको रकम ८१ लाख रुपैयाँ, अवैध नदीजन्य पदार्थ उत्खनन् नियन्त्रणका क्रममा २२ लाख ५३ हजार रुपैयाँ, अवैध काठ बरामदबाट आठ लाख ९१ हजार रुपैयाँ र अवैध पशुपन्छी नियन्त्रणबाट १५ लाख ७१ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।