• फाल्गुन १४ २०८१, बुधबार

घरघरमा गएर राष्ट्रिय परिचयपत्र दिने व्यवस्था सरकारले गरोस् : खतिवडाको माग

फाल्गुन १३ २०८१, मंगलवार

फागुन १३, काठमाडौँ । राज्यबाट सेवा लिने क्रममा ७० वर्षमाथिका ज्येष्ठ नागरिकका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न कांग्रेस सांसद रामहरि खतिवडाले माग गरेका छन् । ७० वर्ष माथिका ज्येष्ठ नागरिकका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने भए घर–घरमा गएर वितरण गर्नुपर्ने खतिवडाको माग छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद खतिवडाले राज्यबाट सेवा उपलब्ध गराउँदा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दा ज्येष्ठ नागरिक समस्यामा परेको बताए ।

देशव्यापी रूपमा राष्ट्रिय परिचयपत्र लागू गरिएको छ । ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई राष्ट्रिय परिचयपत्र लागू नगरियोस, खतिवडाले भने, उहाँहरूका लागि राष्ट्रिय परिचयपत्र लागू गर्ने अवस्था सिर्जना भयो भने प्रत्येक पालिकाको प्रत्येक वडामा नै राष्ट्रिय परिचयपत्र दिने व्यवस्था गरियोस् । सम्बन्धित वडाले घरघरमा गएर राष्ट्रिय परिचयपत्र दिने व्यवस्था सरकारले गरोस् ।

त्यस्तै, सवारी दुर्घटनामा घाइते हुनेहरूको निस्शुल्क उपचार गर्नका लागि पनि खतिवडाले सरकारसँग माग गरेका छन् । ‘बेला–बेला सडक दुर्घटनाबाट मान्छे घाइते भएर आउने, सबै बेहाल भएर हस्पिटल पुग्ने तथा हस्पिटलमा करोडौं बिल उठ्ने र बस धनीले उपचारको खर्च नतिर्ने व्यवस्थालाई अन्त्य गर्नको लागि सवारी दुर्घटनामा घाइते सबैको सरकारको तर्फबाट निस्शुल्क उपचार गर्न माग गर्दछु, उनले भने, ुसम्पूर्ण दुर्घटनामा परेका घाइतेलाई सरकारले निस्शुल्क उपचार गरोस् ।’