१२ फागुन, काठमाडौं । गोली लोड भएको अटोमेटिक पेस्तोलसहित दुई भारतीय नागरिक मकवानपुरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भारतको बिहार राज्य मोतिहारी बहरीग्रामका २६ वर्षीय दीपक कुमार र बिहार सिहुहर जिल्ला धनहरा ग्रामका २२ वर्षीय धिरज कुमार छन् ।
प्रहरी चौकी रातोमाटो र अस्थायी प्रहरी पोस्ट हरियालीबाट खटिएको टोलीले उनीहरूलाई आइतबार दिउँसो पक्राउ गरेको हो । रौतहटको गौरबाट चितवनतर्फ जाँदै गरेको ना ८ ख ८७७३ नम्बरको यात्रुबाहक बसमा जाँच गर्दा हतियारसहित उनीहरू फेला परेको मकवानपुरका एसपी विश्व खड्काले बताए ।
धिरज कुमारले ९ एमएमको १ राउन्ड गोली लोड भएको पेस्तोल कम्मरमा बोकेर हिँडेको एसपी खड्काले बताए । लोड नभएको थप दुई राउन्ड गोली पनि बरामद भएको छ । पक्राउ परेका दुवै जनाविरुद्ध हातहतियार तथा खरखजना मुद्दाको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।