गाजा । गाजामा शासन गरिरहेको प्यालेस्टाइनी विद्रोही समूह हमासले गाजामा युद्धविराम सम्झौताको दोस्रो चरणमा सबै बन्धक र कैदीहरूको एकै चरणमा (साटफेर) रिहाइको नयाँ प्रस्ताव गरेको छ । हमासले स्थायी युद्धविराम कायम गर्ने उद्देश्यका साथ इजरायलसँग यस्तो प्रस्ताव राखेको हो ।
हमासले पहिलो चरणमा रिहाइ हुनुपर्ने थप छ जना बन्धकहरूलाई शनिबार रिहा गर्ने जानकारी पनि दिएको छ । उनीहरू सबै इजरायली नागरिक रहेको बताइएको छ ।
यसैबीच, इजरायलका विदेशमन्त्री गिडेओन सारले दोस्रो चरणको वार्ता यसै हप्ताभित्रै सुरु हुने बताएका छन् । हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था भने अहिलेसम्म अज्ञात छ । उनी जीवित रहेको आशाका साथ नेपालले रिहाइका लागि कूटनीतिक पहल गरिरहेको छ । तर, रिहा हुने बन्धकहरूको सूचीमा उनी हालसम्म परेका छैनन् ।
सबै बन्धक र कैदी एकै चरणमा साटफेर गर्ने हमासको नयाँ प्रस्ताव इजरायलले स्वीकार गरेमा भने विपिन पनि रिहा हुने सम्भावना बढेर गएको छ ।