• फाल्गुन ११ २०८१, आईतवार

केआईआईटी प्रकरणपछि पूर्वाञ्चल विश्वविद्यालयले भन्यो– विदेशबाट अध्ययन पूरा नगरी फर्किएका विद्यार्थीलाई पढाउँछौँ

फाल्गुन १० २०८१, शनिबार

फागुन १०, काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयले विदेशमा अध्ययन गर्न गएका विद्यार्थीहरूले कुनै कारणबस अध्ययन पूरा नगरी फर्किएको अवस्थामा क्रेडिट ट्रान्सफर गरी पढाइने जनाएको छ ।

विश्वविद्यालयले एक सूचना जारी गर्दै विशेष कारणले नेपाल फर्किने विद्यार्थीलाई पढाउने जनाएको हो । उच्च शिक्षाका लागि विभिन्न देशमा गएर विशेष कारणले अध्ययन पूरा नसकी फर्किनुपरेका विद्यार्थीहरूका क्रेडिट ट्रान्सर्फमर गरिने सूचनामा उल्लेख छ ।

स्वदेशमै पुनः आफ्नो अध्ययनलाई निरन्तरता दिई पूरा गर्न चाहेमा विश्वविद्यालयले अध्यापन गराइरहेका विभिन्न शैक्षिक कार्यक्रमहरूसँग मिल्ने विषयको क्रेडिट ट्रान्सफर गरिदिने सूचनामा भनिएको छ ।

हालै भारतको उडिसास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत एक नेपाली विद्यार्थीको शंकास्पद मृत्यु भएको थियो । त्यसपछि नेपाली विद्यार्थीहरूलाई त्यहाँको विश्वविद्यालय प्रशासनले जबर्जस्ती निकालेको थियो ।

उक्त प्रकरणपछि सो विश्वविद्यालयमा पढ्न गएका ठूलो संख्यामा नेपाली विद्यार्थीहरू स्वदेश फर्किएका छन् । यस्तो परिप्रेक्ष्यमा पूर्वाञ्चल विश्वविद्यालयले उक्त सूचना जारी गरेको हो ।