• फाल्गुन १० २०८१, शनिबार

माघमा मात्रै ४७८ ठाउँमा आगलागी : २२ को मृत्यु, १८ करोडभन्दा धेरै क्षति

फाल्गुन ९ २०८१, शुक्रबार

काठमाडौँ — एक महिनाको अवधिमा मात्रै देशभर चार सय ७८ आगलागीका घटना हुँदा २२ जनाको मृत्यु भएको छ। ती आगलागीमा परी १८ करोड ४८ लाख ८१ हजार २५० रुपैयाँ बराबरको क्षति भएको छ । माघ मात्रै आगलागीका कारण देशभर ११ पुरुष, १० महिला र १ बालक गरी २२ जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए ।

उनकाअनुसार ती आगलागीमा परी २६ पुरुष, ५४ महिला र ७ जना बालबालिका घाइते भएका छन् । आगलागीका कारण १७ जना विस्थापित भएका छन् । प्रहरीका अनुसार देशभर आगलागीका कारण ६८ घर र ६६ वटा गोठ जलेका छन् भने यस अवधिमा २४७ वटा चौपाया जलेर मरेका छन्

४७८ आगलागीका घटनामध्ये सबैभन्दा धेरै कोशी प्रदेशमा १२९ ठाउँमा आगलागी भएको छ । त्यस्तै, मधेशमा ८९, बागमतीमा ४२, उपत्यकामा ३७, गण्डकीमा ३९, लुम्बिनीमा ६३, कर्णालीमा ४७ र सुदुरपश्चिममा ४७ वटा आगलागीका घटना भएका छन् ।