२ फागुन, काठमाडौं । नेपाल धितोपत्र बोर्डले पियोर इर्नी लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । बोर्डले शुक्रबार कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो । बोर्डबाट अनुमति पाएसँगै अब कम्पनीले १६ करोड रुपैयाँ बराबरको १६ लाख कित्ता शेयर निष्कासन गर्ने भएको छ । कम्पनीको कुल चुक्ता पुँजी ८० करोड रहेको छ । जसमा संस्थापकको ८० प्रतिशत स्वामित्व रहेको छ भने २० प्रतिशत शेयर सर्वसाधारणको लागि निष्कासन हुन लागेको हो ।
शेयर निष्कासनको लागि नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक रहेको छ । पियोर इनर्जी गोल्यान ग्रुप अन्तर्गतको सोलार कम्पनी हो । कम्पनीले बाँकेमा १० मेगावाटको दुई वटा सोलार आयोजना सञ्चालन गरिरहेको छ । दुवै आयोजनाले २०८० सालदेखि नै व्यापारिक उत्पादन गरिरहेका छन् । २० मेगावाट क्षमता सहित पियोर इनर्जी हालसम्म सबैभन्दा धेरै सौर्य उर्जा उत्पादन गर्ने कम्पनी हो ।
आयोजना ४३ विगाहा क्षेत्रमा फैलिएको छ । यस्तो आयोजना जलविद्युत् जस्तो निश्चित समयमा सरकारलाई हस्तान्तरण गर्नु पर्दैन । सोलारको अवधि सकिएपनि जग्गाको स्वामित्व लगानीकर्ता समक्ष नै रहन्छ । साथै पानीको बहाव घट्दा वा प्राकृतिक विपद् आउँदा जलविद्युत्मा असर गरेजस्तै सोलारमा भने सो जोखिम समेत नरहने कम्पनीले जनाएको छ ।