काठमाडौं । दुई वर्षमा नेपालबाट ३१ हजार ८ सय जना भन्दा धेरै नेपालीहरु विद्यार्थी भिषामा अमेरिका पुगेको पाइएको छ ।
आर्थिक वर्ष २०२२/२३ मा १५ हजार ९० जना र आर्थिक वर्ष २०२३/२४ मा १६ हजार ७ सय ४२ जना गरि दुई वर्षको यस अवधिमा कुल ३१ हजार ८ सय ३२ जना नेपालीहरु विद्यार्थी भिषामा अमेरिका पुगेको एक अध्ययनले देखाएको हो ।
यो भनेको औसतमा दैनिक ४३ जना भन्द धेरै नेपाली विद्यार्थीहरु अमेरिका पुगेको तथ्यांक हो । अमेरिकी सरकारको लगानी रहेको ओपन डोर्सको प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०२३/२४ मा अमेरिका जाने नेपाली विद्यार्थीको संख्या ११ प्रतिशतले बढेको छ ।
जुन छैठौं ठूलो वृद्धि हो । आर्थिक वर्ष २०२३/२४ मा अमेरिका जाने घानाका विद्यार्थीको संख्या सर्वाधिक ४५ प्रतिशतले बढेको छ भने बंगलादेशी विद्यार्थीको संख्या २६ र भारतीय विद्यार्थीको संख्या २३ प्रतिशतले बढेको छ ।
त्यसपछि इरान, नाइजेरिया र नेपालका विद्यार्थीको संख्या क्रमश १५ प्रतिशत, १४ प्रतिशत र ११ प्रतिशतले बढेको हो ।
सन् २०२३/२४ मा अमेरिकामा विद्यार्थी पठाउने दशौं ठूलो देश नेपाल बनेको छ । सन् २०२३/२४ मा विश्वभरबाट कुल ११ लाख २६ हजार ६ सय ९० जना अन्तरराष्ट्रिय विद्यार्थी अमेरिका पुगेका थिए ।
जसमध्ये भारतबाट सबैभन्दा धेरै ३ लाख ३१ हजार ६ सय २ जना र चीनबाट २ लाख ७७ हजार ३ सय ९८ जना विद्यार्थी अमेरिका गएका छन् । त्यस्तै साउथ कोरिया, क्यानाडा, ताइवान, भियतनाम, नाइजेरिया, बंगलादेश र ब्राजिलपछि अमेरिकामा धेरै विद्यार्थी जाने देशको दशौं नम्बरमा नेपाल रहेको छ ।
प्रतिवेदनमा कुन देशका विद्यार्थी के पढ्न जान्छन् भन्ने पनि उल्लेख गरिएको छ । जसमा ४४.६ प्रतिशत नेपाली अन्डरग्र्याजुएट कोर्स पढ्न, र ३५ प्रतिशत नेपाली विद्यार्थी ग्य्राजुएट कोर्स पढ्न जाने उल्लेख छ ।
सन् २०२३/२४ मा नेपालबाट अमेरिका गएका १६ हजार ७ सय ४२ जना मध्ये ९.९ प्रतिशतले बिजनेश एण्ड म्यानेजमेन्ट, ०.५ प्रतिशतले एजुकेशन, १७.९ प्रतिशतले इन्जिनियरिङ, १.३ प्रतिशतले फाइन एण्ड अप्लाईड आर्ट्स, ६.६ प्रतिशतले हेल्थ प्रोफेसन्स, तथा १ प्रतिशतले ह्युम्यानेटिज पढ्न गएको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै ०.१ प्रतिशतले इन्टेनसिभ इंङ्गलिस, २९.९ प्रतिशतले म्याथ एण्ड कम्प्युटर साइन्स, १८ प्रतिशतले फिजिकल एण्ड लाइफ साइन्स, ५.७ प्रतिशतले सोसियल साइन्स, ७.५ प्रतिशतले अदर फिल्ड ओफ स्टडिज र १.७ प्रतिशतले भने आफुले पढ्ने विषय नखुलाएको प्रतिवेदनमा उल्लेख छ । यद्यपि अधिकांशले अमेरिका पुगेपछि पढ्ने विषय परिवर्तन गर्ने गरेको त्यहाँ पुगेका नेपालीहरु बताउँछन् ।