• मंसिर १ २०८१, शनिबार

पर्यावरण जोगाए वापतको रकम माग गर्दै सडकमा उत्रिए नेपालीहरु

मंसिर १ २०८१, शनिबार

काठमाडौं । जलवायु वित्तको माग गर्दै काठमाडौं सहित नेपालका विभिन्न १६ शहरमा मानिसहरु सडकमा उत्रिएका छन् । जलवायु अभियन्ता, नागरिक समाज, पिछडिएको वर्ग, अपांगता भएका व्यक्तिहरू, साना किसान, आदिवासी र स्थानीय समुदायले विश्वव्यापी रुपमा अजरबैजानको बाकुमा जारी कोप-२९ को समर्थनमा सडकमा र्‍याली गरेका हुन् ।

यो र्‍यालीले वैश्विक उत्तर (ग्लोबल नर्थ) का सरकारलाई ऐतिहासिक जलवायु ऋण चुकाउन र वैश्विक दक्षिण (ग्लोबल साउथ) प्रतिको आफ्नो वित्तीय दायित्व पूरा गर्न आह्वान गरेको छ ।

शनिवार बिहान आयोजना गरिएको र्‍याली काठमाडौंको भृकुटीमण्डपबाट सुरु भएर रत्नपार्कसम्म पुगेर समापन भएको छ । र्‍यालीको क्रममा विभिन्न झाँकी प्रदर्शनका साथै सचेतनात्मक नारा पनि लगाइएको थियो ।

काठमाडौंका अलवा चितवन, ढल्केबर, विराटनगर, जनकपुर, पोखरा, लमजुङ्ग, हेटौडा, बुटवल, धनगढी, धुलिखेल, धादिङ, झापा सप्तरी, सुर्खेत, र नेपालगञ्जमा समवर्ती गतिविधिहरू सञ्चालन गरिएको आयोजकले जानकारी दिएको छ ।

यस्ता छन् प्रमुख मागहरु :
जलवायु वित्तलाई ऋणको रूपमा होइन, अनुदानको रूपमा प्रदान गर्नुपर्छ ।
जलवायु वित्तले समावेशी वित्तीय दृष्टिकोणमा ध्यान दिनुपर्छ ।
औद्योगिक राष्ट्रहरुले जलवायु वित्तको विद्यमान प्रतिबद्धताहरू बढाउनु पर्छ ।
अनुदान समयमै र विश्वसनीय हुनु आवश्यक छ ।
कोषको वितरण पारदर्शी र उत्तरदायी हुनु पर्छ ।
जलवायु वित्तले समुदाय/केन्द्रित समाधानलाई प्राथमिकता दिनुपर्छ । जसले पिछडिएको वर्ग, आदिवासी समुदाय र विशेष चुनौती भएको व्यक्तिहरूको समस्या सम्बोधन गर्नुपर्छ ।