काठमाडौं । बलिउड अभिनेता शाहरुख खानलाई ज्यान मार्ने धम्की दिएको आरोपमा मुम्बई प्रहरीले छत्तीसगढको राजधानी रायपुरबाट फैजान खान नाम गरेका एक वकिललाई पक्राउ गरेको छ । गत हप्ता रायपुरमा सोधपुछ गरेपछि प्रहरीले फैजान खानलाई सोमबार बान्द्रा प्रहरी चौकीमा बोलाएको थियो ।
रायपुरका एक प्रहरी अधिकारीले नोभेम्बर ५ मा मुम्बईको बान्द्रा पुलिस स्टेसनमा फोन गरी शाहरुख खानलाई मार्ने धम्की दिएर ५० लाख रुपैयाँ मागिएको बताए । त्यसपछि, प्रहरीले फोन गर्ने अज्ञात व्यक्तिविरुद्ध मुद्दा दर्ता गरेको थियो ।
धम्की दिएको फोनको सिमकार्ड रायपुरका फैजान खानको नाममा रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यसको भोलिपल्ट मुम्बईका प्रहरी अधिकारीहरूले रायपुर पुगेर फैजान खानसँग सोधपुछ गरेका थिए ।
प्रहरीले सोधपुछ गरेपछि फैजानले शाहरुख खानलाई धम्की दिन प्रयोग भएको आफ्नो फोन नोभेम्बर २ मा हराएको जिकिर गरेका थिए । यसबारे आफूले रायपुर प्रहरी चौकीमा लिखित उजुरी दिएको उनको भनाइ छ ।
फैजान खानका अनुसार हालसालै उनले सन् १९९४ मा रिलिज भएको शाहरुख खानको फिल्म अंजाम हेरेका थिए । जसमा शाहरुख हातमा बन्दुक लिएर एक हरिणको सिकार गरेर आएका छन् । यस दृश्यमा उनी आफ्ना कामदार हरि सिंहलाई कारमा एउटा हरिण छ, त्यसलाई पकाएर खाऊँ भनिरहेका सुनिन्छन् । योसँगै फिल्ममा आमाको भूमिका निभाएकी अभिनेत्रीले शाहरुख खानलाई किन निर्दोष जनावर मारेको भनेर सोध्छिन् । जवाफमा शाहरुख आफूलाई यो काम गर्न धेरै रमाइलो लाग्ने गरेको बताउँछन् ।
फैजानका अनुसार यो दृश्य देखेपछि उनले २९ अक्टुबरमा जोधपुर प्रहरी र राजस्थान प्रहरीलाई पत्र लेखेर यस विषयमा गुनासो गरेका थिए । उनले उजुरीमा राजस्थानको बिश्नोई समुदायले हरिणको पूजा गर्ने गरेको उल्लेख गरेका छन् ।
यस किसिमको संवादले बिश्नोई समुदायको आस्थामा चोट र्पुयाउने र दुई समुदायबीच दरार पैदा हुने उनको भनाइ छ । फैजानले शाहरुख खानविरुद्ध मुद्दा दर्ता गरी सन् १९९४ मा रिलिज भएको फिल्म ‘अंजाम’लाई प्रतिबन्ध लगाउन माग गरेका थिए ।