२२ कात्तिक, काठमाडौं । कुल श्रमशक्तिको १५ प्रतिशत मात्र विदेशी कामदार हुने गरी तोकेको कोटालाई मलेसियाले निरन्तरता दिएको छ ।
१ जुन २०२४ (१८ जेठ २०८१) देखि तोकिएको विदेशी श्रमिकको कोटालाई मलेसियाले १५ सेप्टेम्बरको समीक्षापछि पनि पुनः निरन्तरता दिएको हो ।
मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइलले सरकारले तोकेको भन्दा देशमा विदेशी कामदारको संख्या धेरै रहेकाले यो निणर्यलाई निरन्तरता दिइएको बताए ।
‘विदेशी कामदारहरूलाई काममा राख्न तोकिएको कोटा अर्को सूचना नभएसम्म जारी रहनेछ’, उनले मलेसियाली सञ्चार माध्यमहरुसँग भनेका छन् ।
मलेसिया प्रमुख श्रम गन्तव्य नेपालजस्ता देशलाई यो निणर्यले अप्ठेरो परेको छ । गत जेठयता मलेसियामा नेपाली श्रमिक रोजगारीका लागि जान पाएका छैनन् ।
मलेसियाको अर्थ मन्त्रालयका अनुसार कुल १ करोड ७० लाख श्रमशक्तिमध्ये विदेशी कामदारलाई १५ प्रतिशतमा सीमित गर्ने नीति लिइएको छ । मलेसिया सरकारले यसअघि स्वीकृत कोटाभित्र आप्रवासी कामदार ल्याउन बाँकी कम्पनीहरूलाई मे ३१ सम्मको समय दिएको थियो ।
मलेसियामा अहिले २० लाखभन्दा बढी आप्रवासी कामदार रहेको अनुमान छ, त्यसमध्ये ५ लाखभन्दा बढी नेपाली नै रहेको अनुमान छ ।
नेपालको जस्तै मौसम भएका कारणले धेरै अदक्ष श्रमिकले मलेसियालाई रोज्ने गरेका थिए । रोक नलाग्दासम्म औसत मासिक ८ हजार नेपाली अहिले पनि मलेसिया पुगिरहेका थिए । नेपालको मुख्य श्रम गन्तब्यको सूचीमा मलेसिया यूएईपछि दोस्रो स्थानमा थियो ।
मलेसियाबाट श्रमिकको माग आउन बन्द भएपछि धेरै नेपालीले रोजगारीको गन्तव्यको विकल्प खोजिरहेका छन् । पछिल्लो समयमा युरोपेली देशमा नेपाली श्रमिकको माग बढिरहेको छ ।
यसअघि मलेसिया जाने कामदारमाथि विभिन्न बहानामा थप शुल्क लगाएर ठगी गरेको भन्दै नेपाल सरकारले १२ जेठ २०७५ मा मलेसियाका लागि श्रम स्वीकृति दिन रोकेको थियो । तत्कालीन श्रममन्त्री गोकणर् विष्टले ठगी गर्नेमाथि कारबाही अभियान चलाएका थिए ।