असोज २८, काठमाडौं । भारतको उत्तर प्रदेशस्थित बहराइचमा सोमबार पुनः हिंसा भड्किएको छ । मूर्ति विसर्जनका क्रममा आइतबार पनि हिंसा भड्किएको थियो ।
समाचार एजेन्सी एएनआई र पीटीआईलाई उद्धृत गर्दै बीबीसीले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जनाएको छ । यद्यपि, प्रदर्शनकारीहरूले उग्र प्रदर्शन गरेका छन् ।
प्रदर्शनकारीहरूले प्रदर्शनका क्रममा अस्पताल तथा पसलहरूमा आगजनी गरेका छन् । आइतबार मूर्ति विसर्जनका क्रममा भड्किएको हिंसामा परी एक जनाको मृत्यु भइसकेको छ ।
मुख्यमन्त्री योगी आदित्यनाथलले यो घटनामा कठोर कदम उठाइने चेतावनी दिएका छन् । उनले एक्स (ट्विटर) मा लेखेका छन्- बहराइचमा घटनामा वातावरण विगार्नेलाई छाडिने छैन । यो घटनाका दोषीहरूलाई पहिचान गरी कडाभन्दा कडा कारबाही गरिनेछ ।
साथै उनले मूर्ति विसर्जन जारी रहने पनि उल्लेख गरेका छन् । उनले धार्मिक संगठनहरूसँग संवाद गरी मूर्ति विसर्जन गराउने कार्य जारी राख्न प्रहरीलाई निर्देशन दिइएको पनि जनाएका छन् ।
प्रदर्शनकारीहरू लाठीसहित सडकमा निस्किएको नवभारत टाइम्सले उल्लेख गरेको छ । प्रदर्शनकारीहरूले पसल, कार, तथा बाइकमा आगजनी गसेका छन् ।
उता, हिंसात्मक झडपमा परी मारिएका व्यक्तिको अन्त्येष्टि गर्न परिवारले इन्कार गरेका छन् । उनीहरूले शवसहित प्रदर्शन गरेका समाचारमा जनाइएको छ । यद्यपि, प्रदर्शनकारीहरूको माग के हो भन्ने खुलीनसकेको समाचारमा जनाइएको छ ।
दुर्गा मूर्ति विसर्जनका क्रममा सांप्रदायिक हिंसा भड्किएको हो । त्यसमा परी सरकारी अधिकारीहरू पनि घाइते भएका जनाइएको छ ।