जम्मु । भारत प्रशाशित काश्मिरमा निर्वाचनको परिणाम सार्वजनिक भएको केही घण्टापछि एक सैनिकलाई सन्दिग्ध लडाकूले अपहरण गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
भारत प्रशासित काश्मिरमा एक दशकपछि पहिलो पटक भएको विधानसभा निर्वाचनको परिणाम सार्वजनिक भएको केही घण्टापछि प्रहरीले एक सैनिकलाई सन्दिग्ध लडाकूले अपहरण गरी हत्या गरेको जनाएको छ ।
सन् १९४७ मा बेलायती शासनबाट स्वतन्त्र भएदेखि नै मुस्लिम बाहुल्य रहेको काश्मिर भारत र पाकिस्तानबीच विभाजित छ। अनन्तनाग जिल्लामा मङ्गलबार साँझ दुई सैनिकको अपहरण भएको प्रहरी अधिकारीले एएफपीलाई जानकारी दिएका छन् ।
“एक जना सैनिक भाग्न सफल भए। उनलाई दुईवटा गोली लागेको छ र उनको उपचार भइरहेको छ,” नाम नबताउने शर्तमा ती अधिकारीले भने। सैनिकद्वयको अपहरणपछि उनीहरूको खोजी सुरु गरिएको र केही घण्टापछि अर्थात् बुधबार बिहान अर्का एक सैनिकको शव जङ्गलमा फेला परेको थियो ।
सन् १९८९ यता दशौँ हजार सर्वसाधारण, सैनिक र विद्रोही मारिएको सशस्त्र विद्रोहसँग जुधिरहेका काश्मिरमा कम्तीमा पाँच लाख भारतीय सेना तैनाथ छन् । भारतले पाकिस्तानमाथि विद्रोहीलाई सहयोग र हतियार उपलब्ध गराएको आरोप लगाउँदै आएको छ।