• आश्विन १४ २०८१, सोमबार

रूसले युक्रेनमा सबै निर्धारित लक्ष्य पूरा गर्ने पुटिनको दाबी

आश्विन १४ २०८१, सोमबार

काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार मस्कोले युद्धको तेस्रो वर्षमा युक्रेनका लागि तय गरेका सबै लक्ष्यहरू पूरा गर्ने बताएका छन् ।

सत्य आफ्नो पक्षमा रहेको दावी गर्दै ‘पुनर्मिलन दिवस’को वार्षिकोत्सव मनाउन जारी गरिएको भिडियो सन्देशमार्फत् पुटिनले निर्धारित लक्ष्यहरू प्राप्त हुने बताएका हुन् ।

सन् २०२२ फेब्रुअरीमा युक्रेनमा सेना परिचालन गरेपछि रूसले लुगान्स्क, डोनेट्स्क, जापोरिझिया र खेरसन लगायतका क्षेत्रहरू कब्जा गरिसकेको छ ।

सम्बोधनमा पुटिनले युक्रेनमा सेना पठाउनुको उद्देश्य रूसी भाषीलाई नव–नाजीवादबाट जोगाउने रहेको बताउदै यसले नाजीवादीहरूलाई रूसको ऐतिहासिक भूमिबाट सदाका लागि छुट्याउने रहेको उल्लेख गर्नु भएको छ ।

पुटिनले ‘पश्चिमी’ गठबन्धनको आलोचना गर्दै ‘युक्रेनलाई आफ्नो उपनिवेशमा परिणत गरी, रूस लक्षित सैन्य आधार खडा गर्न रूसविरूद्ध घृणा, कट्टरपन्थी राष्ट्रवादलगायतका कुरामा शत्रुता फैलाएको बताए । ‘अहिले हामी हाम्रा भावी सन्तानको सुरक्षा र समृद्धीका लागि लडिरहेका छौँ,’ पुटिनले भने ।