• आश्विन १३ २०८१, आईतवार

१०० भन्दा बढी युक्रेनी ड्रोन नष्ट गरेको रूसको दाबी

आश्विन १३ २०८१, आईतवार

काठमाडौं । रूसले रातभरमा आफ्नो क्षेत्रमा प्रवेश गरेका १२५ युक्रेनी ड्रोन नष्ट गरेको साथै आक्रमणबाट कुनै क्षति नभएको रक्षा मन्त्रालयले आइतबार जनाएको छ । ‘करिब १२५ युक्रेनी ड्रोन रुसी हवाई रक्षा प्रणालीद्वारा नष्ट गरिएको छ, मन्त्रालयले टेलिग्राममा भनेको छ ।

दक्षिणी रूसको भोल्गोग्राद क्षेत्रमा ६७ वटा ड्रोन नष्ट गरिएको गभर्नर आन्द्रे बोचारोभले बताए । त्यसैगरी, बेलगोरोड क्षेत्रमा १७ र भोरोनेज क्षेत्रमा १७ वटा ड्रोन नष्ट गरिएको गभर्नर अलेक्सान्डर गुसेभले बताए ।

भोरोनेज सहर र यसको उपनगरमा ड्रोन खस्दा दुई आवासीय भवनमा आगलागी भएको तर कुनै हताहती नभएको उनले बताएका छन् ।रोस्तोभ क्षेत्रमा थप १८ वटा ड्रोनहरू नष्ट गरिएको गभर्नर भासिली गोलुबेभले टेलिग्राममा बताए ।

ब्रायन्स्क, कुस्र्क र क्रास्नोडार क्षेत्रमा एक-एक युक्रेनी ड्रोन नष्ट गरिएको र आजभ सागरमा तीन ड्रोन नष्ट गरिएको रक्षा मन्त्रालयले बताएको छ ।