५ साउन, काठमाडौं । बंगलादेशमा जारी आरक्षण विरोधी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ३५ पुगेको छ । आन्दोलन भड्किएर हिंसात्मक बन्दै गएपछि सरकारले देशभर कफ्र्यु आदेश जारी गरेको छ । त्यहाँ आरक्षणको विरोधमा विद्यार्थी र युवाहरू प्रदर्शनमा उत्रिएका छन् ।
उनीहरूले सन् १९७१ को स्वतन्त्रता सङ्ग्राममा भाग लिने स्वतन्त्रता सेनानीका परिवारलाई सरकारी जागिर दिएको आरक्षणको विरोध गरेका छन् । आन्दोलनलाई थप हिंसात्मक हुन नदिने सरकारले ठूलोमात्रामा सुरक्षाकर्मी परिचालन गरेको छ ।
तर, कफ्र्युकाबीच पनि ठाउँठाउँमा सुरक्षाकर्मीसँगै झडप भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । आन्दोलन नियन्त्रण गरी शान्ति सुुव्यवस्था कायम गर्न सरकारले सेना खटाउने तयारी गरेको छ ।
बंगला देशमा नेपाली विद्यार्थी पनि रहेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार त्यहाँ रहेका सबै विद्यार्थी सुरक्षित छन् । थप सहयोग आवश्यक भए दूतावासमा सम्पर्क गर्न मन्त्रालयले भनेको छ ।