• मंसिर १२ २०८१, बुधबार

सभापति देउवाले बोलाए कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

असार ३० २०८१, शनिबार

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । शनिबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्नेगरी कार्यसम्पादन समितिको बैठक बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाउने लगायत अन्य समसामयिक राजनीतिक परिस्थतिबारे बैठकमा छलफल हुनेछ । शुक्रबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त भएसँगै एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दाबी पेस भइसकेको छ ।

राष्ट्रपति पौडेलले आइतबारसम्मको समय दिएर संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री दाबी गर्न आह्वान गरेपनि कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीले शुक्रबार बेलुका नै दाबी पेस गरेका थिए । कांग्रेस र एमालेबीच असार १७ गते राति दुई दलको सरकार बनाउने र पहिले ओली प्रधानमन्त्री बन्ने सहमति भएको थियो । कांग्रेसले ओली नेतृत्वको सरकारमा जाने मन्त्रीहरूबारे छलफल गर्न बैठक बोलाएको हो ।