वर्तमान संसदमा प्रतिपक्षको लहरमा रहेका वाम पार्टीहरूबिच अहिले ‘वाम एकता’ को चर्को बहस चलिरहेको छ । यो वहसले सार्थकता हासिल गर्ला त भन्ने कुरामा शङ्का र आशङ्का पलाए पनि एकताको कुरा नराम्रो भने होइन ।
तर आजसम्म वाम एकता हुन नसकेको हो कि वाम एकता भएर पनि व्यवहारमा समस्या परेको हो ? सो कुराको मिहिन विश्लेषण हुनु आवश्यक छ । नेपालको राजनीतिक फाँटमा पहिले देखि नै प्रजातान्त्रिक शक्ति र वाम शक्तिले आआफ्ना मञ्च, मोर्चा र पार्टी एकता बारम्बार प्रयोगमा ल्याइसकेका छन् ।
तर पनि चाहेको वा भनेकोजस्तो मोर्चा वा पार्टी एकता हुन भने सधैं समस्या रहँदै आएको छ । एकता, फुट, विभाजन र विसर्जनका भङ्गालाहरूले यो वा त्यो रूपमा निरन्तरता पाइ नै राखेका छन् । २००७ सालमा राणा शासनको अन्त्यसँगै सुरू भएको नेपाली दलीय राजनीतिको पृष्ठभूमिले यही कुरा पुष्टि गर्दै आएको छ ।
नेपाली राजनीतिमा दलीय राजनीतिले पञ्चायतकालिन तीन दशकबाहेक सिङ्गो पाँच दशक रजगज गर्ने अवसर पाएको छ । पचास वर्ष भनेको चारदेखि पाँच पुस्ताको पुस्तान्तरको समय हो । यो बिचमा विकास, सुशासन र लोकतन्त्रका कुरा निकै उरालिएका पनि छन् । तर देखिने गरी जनपक्षीय काम कमै मात्र हुन गएका छन् ।
पचास वर्षको दलीय शासनमा नेपाली काङ्ग्रेस हाबी हुँदै आएको छ । त्यसैले यस बिचको ८० प्रतिशत अपजस उसैलाई जान्छ । बाँकी २० प्रतिशत अपजसको भागिदार वाम तथा साना पार्टीले पनि गच्छेअनुसार लिनुपर्छ । वाम वृत्तमा एमाले प्रमुख भागिदार ठहर्छ । तर्क वितर्क जे गरिए पनि इतिहासले देखाउने सच्चाइ यही हो ।
जेन्जी आन्दोलनपछि प्रजातान्त्रिक धारामा नयाँ शक्तिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयपछि नेपाली काङ्ग्रेस सानो आकारमा खुम्चन पुगेको छ । वाम धारामा कुनै ‘नयाँ वाम पार्टी’ को उदय नभइकनै वामपन्थीहरू निचोरिँदै, चिथोरिँदै र निसासिँदै किनाराकृत हुन पुगेका छन् ।
यो अवस्था वाम एकता नहुनुकै कारणले हो त ? ‘वृहद् वाम एकता’ले यसको औचित्य पुष्टि गर्न सक्ला ? पृष्ठभूमिमा एउटै दृष्टान्त काफी छ, काङ्ग्रेस र वामपन्थी सरकारमा रहेका र गठबन्धन गरेका बेलामा पनि रविको रास्वपा एक्लैले कति मतान्तरले गठबन्धनका उम्मेदवारलाई मतपरिणाममा सहजै उत्तानो पारिदिएको थियो ? यसको समिक्षा गरियो होला ?
कुनै पनि कुराको बारेमा तर्कवितर्क, बहस र एकताका कुरा समय सन्दर्भिक हुनु पर्छ । त्यस्तो परिवेशले मात्र यस्ता अजेण्डालाई सबैको चासो, चिन्ता र गाम्भीर्यताको विषय बनाउँछ । होइन भने यो फगत एक खेल वा हल्लाखल्लाको विषयमा सिमित हुन पुग्छ ।
वामपन्थी नेताहरूले यस्ता विषयमा केटौलेपन देखाउनु हुँदैन । यो हतार र आवेशको विषय पनि होइन । त्यति मात्र होइन, यो कुनै नेता विशेषको चासो र चिन्ताको विषय मात्र पनि होइन । परिस्थिति असहज छ, नेपाली काङ्ग्रेसका लागि होस् वा वामपन्थीका लागि ।
किनाराकृत यी दुबै शक्तिसँग न त जनमत छ, न त सडक सङ्घर्षको अजेण्डा नै । नेपाली काङ्ग्रेसकृत संसदीय परिवेश र एजेण्डामा वामपन्थी शक्तिहरू उम्कनै नसक्ने गरी फसिसकेको बेलामा स्वयम् काङ्गेसकै हातबाट त्यही संसदीय म्यान्डेट उदारवादी प्रजातान्त्रिक शक्ति रास्वपाले हत्याइसकेको अवस्थामा वृहत्तर प्रजातान्त्रिक एकता वा वृहत्तर वामपन्थी एकताले कुनै असर पार्दैन ।
किनकि यी सबै ससाना प्रतिपक्षको किनाराकृत अभिमत वा जनादेश लिएर संसदीय हलभित्र पाँच वर्षका लागि अनुबन्धित भइसकेका छन् । यस्तो अवस्थामा वाम एकता वा प्रजातान्त्रिक एकता दुवै धाराका राजनीतिक पहल हावामा चित्रकारिता मात्र साबित हुन जानेछन् ।
फेरि अर्को डरलाग्दो परिवेश कहाँनेर छ भने वर्तमान रास्वपाको सरकारले सुशासनका नाममा जुन जनमत प्राप्त गरी सम्पत्ति शुद्धिकरणका कामकारबाही अघि बढाइरहेको छ, त्यति नै बेला वामपन्थी वा काङ्ग्रेस चलमलाउन खोज्नु युक्तिसङ्गत पनि देखिदैन । जनताले साथ पनि दिँदैनन् । सुशासनका काम अघि सार भनी सरकार बनाएर सुशासनको प्रतिक्षा गरिरहेका जनता कुनै एकता वा आन्दोलनलाई साथ दिने अवस्थामा पनि छैनन् ।
यस्तो बेलामा सरकारले अघि सारेको काम कारवाहीमा आफू सतिसाल झैं अडिग रहने, सुशासनका एजेण्डा कार्यान्वयनमा सहयोग गर्ने, आफू सच्चा भएको साबित गर्ने र क्रमशः सुशासन र शुद्धीकरणका अभियानहरू अघि बढाउँदै लैजानु बढी श्रेयस्कर हुन्छ ।
स्थानीय तहसम्म सुशासन र शुद्धीकरणका छलफल र बहस तथा तिनमा जनताको सहभागिता बढाउँदै लैजाने हो भने रास्वपा सरकारले अघि सारेका सुशासनका कारवाहीले पनि ती राजनीतिक अभियान रोकिदैनन् । अर्को, आसन्न स्थानीय निर्वाचनको पनि तयारी हुनजान्छ ।
फगत ‘वृहत्तर वाम एकता’ मात्र भनियो भने हारेका र प्रतिपक्षमा रहेका वामहरूको एकताले के नै पो काम गर्छ र ? त्यसैले जनस्तरमा पाचन हुनसक्ने गरी त्यस्ता अजेण्डा निर्माण गर्दा राम्रो हुन्छ, जसले सरकारका सुशासनका डण्डाबाट तर्सिएको आभाष पनि हुन नजाओस् र आगामी कामको पनि छनक मिलोस् । यसका लागि अभियानका विभिन्न स्वरूप नै उत्तम हुन्छन् ।
पार्टी, पार्टी एकता र ‘स्वघोषित’ ठूलो पार्टीको सर्वोच्च नेता हुने महारोग अबका दिनमा नपाल्दा वामपन्थी पार्टीहरूको भलो हुने देखिन्छ । जनतामाझ बिलाउँदै र हराउँदै जाने तर पार्टी एकताका नाममा केन्द्रका नेताहरू जम्मा गरेर दश–बीस टाउके रावण र महारावण सिर्जना गरी उभ्याउन खोज्दा सुकेका दुई खुट्टाले धान्न नसकिने यथार्थता नाङ्गा आँखाले पनि सहजै देख्न सकिन्छ ।
समाप्त