• फाल्गुन २६ २०८२, मंगलवार

अस्ट्रेलियासँगको मतभेद हटाउन चिनियाँ प्रधानमन्त्री ली छ्याङको आह्वान

असार १ २०८१, शनिबार

सिड्नी । चीनका प्रधानमन्त्री ली छ्याङले शनिबार आर्थिक अवसरको बाचामा केन्द्रित भ्रमणको सुरुवात गर्दै अस्ट्रेलियासँगको मतभेद हटाउन आह्वान गरेका छन् ।

चारदिने कूटनीतिक भ्रमणका निम्ति एडिलेडमा अवतरण गरेपछि प्रधानमन्त्री लीले चीनद्वारा प्रमुख अस्टे्रलियाली निर्यातविरुद्ध दण्डात्मक व्यापार प्रतिबन्ध हटाएसँगै मेलमिलापको प्रस्ताव गरे ।

‘पारस्परिक सम्मान र साझा आधार खोज्दै मतभेदहरू मेटाउने चीन-अस्ट्रेलिया सम्बन्धमा पारस्परिक लाभदायक सहयोगका रूपमा रहेको बहुमूल्य अनुभवलाई अगाडि बढाउनुपर्छ,’ उनले लिखित आगमन वक्तव्यमा भने, ‘अधिक परिपक्व, स्थिर र फलदायी व्यापक रणनीति साझेदारी दुवै मुलुकका जनताद्वारा साझा गरेको खजाना हुनेछ ।’

राष्ट्रपति सी चिनफिङपछि चीनको दोस्रो सबैभन्दा शक्तिशाली नेता ली संशाधनसम्पन्न महादेश अस्ट्रेलियामा आफ्नो कूटनीतिक उद्धेश्यको सुरुवातमा एडिलेड पुगेका छन् । उनी सन् २०१७ पछि अस्ट्रेलियाको भ्रमण गर्ने उच्चपदस्थ चिनियाँ अधिकारी हुन् ।

चीनले पूर्वकन्जरभेटिभ सरकारसँग कूटनीतिक मतभेदका क्रममा सन् २०२० मा वाइन, काठ, जौ र गाईको मासु निर्यातमा लगाइएको व्यापार प्रतिबन्धलाई क्रमशः हटाएको छ । यी उपायले अस्ट्रेलियाली निर्यातकर्तालाई प्रतिवर्ष २० अर्ब अस्ट्रेलियन डलर (१३ अर्ब अमेरिकी डलर) खर्च गर्ने अनुमान गरिएको छ ।

सन् २०२२ मा प्रधानमन्त्री एन्थोनी अल्बानिजको सरकार सत्तामा आएपछि र बेइजिङप्रति नरम कूटनीतिक दृष्टिकोण अपनाएपछि दुवै मुलुकबीच आर्थिक सम्बन्धमा सहजता आएको छ ।