काठमाडाैं । भारतको लोकसभा चुनावको जारी मतगणनाले सत्तारुढ भारतीय जनता पार्टीले बहुमत नल्याउने संकेत गरेको छ । बिहानदेखि जारी मतगणनामा भारतीय जनता पार्टी (भाजपा) सहितको गठबन्धन एनडीएले २८६ सिटमा अग्रता लिएको छ । भाजपा एक्लै भने २४० सिटमा अगाडि देखिएको छ ।
५४३ सिटको लोकसभामा बहुमतका लागि २७२ सिट जित्नपर्ने हुन्छ । अघिल्लो चुनावमा भाजपाले ३०३ सिट जितेको थियो । त्यसैले अहिलेको चुनावमा ६३ सिट गुमाउने खतरा देखिएको छ । यता, कंग्रेस नेतृत्वको इन्डिया गठबन्धनले २३४ सिटमा अग्रता लिएको छ । अहिलेसम्मको मतगणनामा २४ सिटमा अन्य दलले अग्रता लिएका छन् ।
कंग्रेस अघिल्लो चुनावभन्दा झण्डै दोब्बर सिटले अघि देखिएको छ । कंग्रेसले सन् २०१९ को चुनावमा एक्लै ५२ सिट जितेकोमा यसपालि ९४ सिटमा अग्रता लिइरहेको छ । त्यसैले, अहिले भाजपाका लागि धक्का लागेको अर्थमा विश्लेषण हुन थालेको छ ।