• जेष्ठ ४ २०८३, सोमबार

देशभर गणतन्त्र दिवस मनाइँदै,टुँडीखेलमा विशेष समारोह आयोजना हुँदै

जेष्ठ १५ २०८१, मंगलवार

काठमाडौ । आज विभिन्न कार्यक्रम गरी देशभर गणतन्त्र दिवस मनाइँदै छ । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ साल जेठ १५ गते राजतन्त्रको अन्त्य गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको ऐतिासिक दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को सशस्त्र युद्ध र सात संसद्वादी राजनीतिक दलको शान्तिपूर्ण आन्दोलनको जगमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफ्नो प्रत्यक्ष शासनसत्तालाई जनतालाई फिर्ता गर्दै २०६३ वैशाख ११ गते तत्कालीन संसद् पुनः स्थापना गरेका थिए भने त्यसपछि गठित सरकारबाट भएको संविधानसभाको निर्वाचनबाट निर्वाचित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते व्यवस्थापिका–संसद्बाट गणतन्त्र स्थापनाको घोषणा गरेको थियो ।

दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ भने सैनिक मञ्च टुँडीखेलमा विशेष समारोह आयोजना हुँदैछ ।

विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा माओवादीबीच पूर्ण लोकतन्त्र स्थापनाका लागि १२ बुँदे समझदारी भएको थियो ।

विसं २०६२ साल मङ्सिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो ।