• मंसिर ११ २०८१, मंगलवार

कमल एक्चैद्धारा निर्देशित चलचित्र ‘शिरफूल’ असार ७ मा देशभर प्रदर्शन हुने

जेष्ठ ८ २०८१, मंगलवार

काठमाडौं । कमल एक्चै मगरको निर्देशनमा बनेको चलचित्र ‘शिरफूल’ प्रदर्शनमा आउने भएको छ ।  चलचित्र यही आउने असार ७ गतेबाट प्रदर्शनमा आउने भएको हो।

‘शिरफूल’ आदिवासी जनजाति महिलाहरुले लगाउने एक प्रकारको सुनको गहना हो । नारीले शिरमा लाउने, फूलका आकार हुने भएकाले ‘शिरफूल’ भनिएको हो । नेपाली समाजमा छोरी चेलीलाई शिरको फूलको रुपमा लिने चलन भएकोले चलचित्रमा छोरीलाई बिम्बको रुपमा बुझाउन खोजिएको निर्देशकएक्चै मगरले बताए ।

चलचित्रमा अहिलेको बढ्दो आधुनिकताको प्रभावसँगै युवा पुस्तामा देखिएको सांस्कृतिक विकृतिलाई पनि चित्रण गर्ने प्रयास गरिएको छ । चलचित्रमा रुपा राना, राज थापा, देवराज आले, विनिता थापा, सुनिल रोका, नमिता तामाङ, पुजा गदाल, लिला गुरुङ, निता पुन, किरण मगरलगायतको अभिनय रहेको छ।

राजु थापा, डिपी खनाल र कृष्ण केसीको शब्द, हरि लम्साल र देवराज आले मगरको संगीत, देवराज आले मगरको कथा, निरोज श्रेष्ठको छायांकन र मिलन श्रेष्ठको सम्पादन छ । आशिर्वाद पुन मगर र माया छन्त्याल पुनको लगानीमा बनेको चलचित्रको पटकथा संवाद राज थापा र राजु युगिनले लेखेका हुन् ।

चलचित्रका गीतमा तारा श्रीस, आर्जन पाण्डे, हरि लम्साल, मेलिना राई देवराज आलेले स्वर दिएका छन्। चलचित्रमा अभिनेत्री मरिस्का पोखरेलको विशेष भूमिका रहेको छ। चलचित्रलाई आर आर फिल्म्सले देशभर वितरणको जिम्मा लिएको छ।

निर्देशक कमलको निर्देशनमा यस अघि चलचित्र (डेसानं) प्रदर्शनमा आई सकेको छ। विभिन्न फिल्म फेस्टिभल तथा अवार्डहरुमा आफ्नो राम्रो प्रभाव छोड्न सफल निर्देशक कमलको चलचित्र ‘शिरफूल’ अहिले प्रदर्शनमा आई रहेका भन्दा केहि भिन्न स्वादको चलचित्र भएको निर्देशकको भनाई रहेको छ।यो चलचित्र केही वर्ष अगाडि निर्माण भएको आयोजकको भनाई छ ।