काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सहकारी प्रकरणको छानबिन हुँदा रवि लामिछाने गृह मन्त्रालयको जिम्मेवारीमा बसिरहन नमिल्ने बताएका छन् ।
शनिबार पार्टीनिकट वैदेशिक रोजगार व्यवसायी एशोसिएशनले काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले लामिछाने उपप्रधानमन्त्री बसिरहन सक्ने तर गृह मन्त्रालयको जिम्मेवारीमा रहन नसक्ने बताएका हुन् ।
‘उहाँमाथि जुन चार्ज लागेको छ त्यो होइन भनेर पुष्टि गरिदिनुस् । त्यतिबेलासम्म उपप्रधानमन्त्री बनिरहनुस् तर गृह मन्त्रालयमा बस्नु भएन,’ कोइरालाले भने ।
लामिछाने गृहमन्त्रालयमै बसिरहँदा देशभरीका सहकारीको अनुसन्धान प्रभावित हुने उनले बताए । ‘गृह मन्त्रलयमा उहाँ बसेपछि सिआइबीले कसरी छानबिन र अनुसन्धान गर्छ?,’ उनले भने ।
नेता कोइरालाले देशभरीको छानबिन समिति पार्टी र सांसदले नभई प्रहरीले गर्ने बताए ।