• मंसिर १३ २०८१, बिहीबार

‘गल्ती गरिहालेँ, अब एमालेमै फर्कन चाहन्छु’ –वामदेव गौतम

बैशाख २४ २०८१, सोमबार

काठमाडौँ । राष्ट्रियसभा सदस्य वामदेव गौतमले नेकपा एमालेमा फर्कनका लागि आफूले पार्टीको निर्णय पर्खिरहेको बताएका छन् । सोमबार आयोजित सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्दै गौतमले आफूले गल्ती महसुस गरेको र आत्मालोचना गर्दै पार्टीमा फर्कन तयार रहेको बताएका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसमेत सहभागी कार्यक्रममा गौतमले भने, ‘भर्खर पार्टी फुटेको बेला एकपटक उहाँले बोलाउनुभएको थियो । तर म गइनँ । पछि फेरि बोलानुभयो, त्यति बेला भने गएँ र भने–कमरेड, हामी फेरि फर्कन्छौँ । मलाई के जिम्मा दिनुहुन्छ ? अरूलाई के जिम्मा दिनुहुन्छ ? जवाफमा अध्यक्ष ओलीले तपाईंहरुको बारेमा हाइलेभल कमिटीले निर्णय गर्छ भन्नुभयो ।’

गौतमले ७–८ महिना बितिसके पनि आफूले अझै पनि हाइलेभलको निर्णय पर्खिराखेको बताए । ‘मैले गल्ती कमजोरी गरेको छु । मान्छेबाट गल्ती कमजोरी हुन्छ । त्यसबारे आत्मालोचना गर्छु । रियलाइजेसन गर्नुपर्छ, मैले गरेँ,’ उनले भने । पार्टी दुईतिर भएको बेला ‘बिचमा बस्नु हुन्न, तपाईंलाई घाटा लाग्छ’ भनेर अध्यक्ष ओलीले भनेको कुरा पनि उनले स्मरण गरे । उनले भने, ‘आज मलाई घाटा लागेको छ । तपाईंले सुरुमा बोलाउनु हुँदा नै जानुपर्ने थियो ।’

उनले दुईवटा अध्यक्ष दुईतिर भएपछि आफूलाई चित्त दुखेको पनि स्पष्ट पारे । उनले एक पक्षतिर लागेर अर्को पक्षलाई गाली गर्न आफूले नचाहेको पनि जिकिर गरे । ‘म कतैतिर पनि लागिनँ । तर दुवैतिरकाले भने– पार्टी फुटाउने वामदेव हो । मैले त मिलाउने फोरम बनाएको थिएँ । कसैले पनि साथ दिनुभएन, मैले एक्लै के गर्नु र ?,’ गौतमले गुनासो गरे, ‘मैले पार्टी फुटाएको होइन । ५४ सालमा पनि निष्कासन गरेपछि मात्र अर्को पार्टी बनाइयो । पछि रियलाइजेसन गरेर आएँ ।’

आफू अझै पनि पार्टीको जिम्मेवार पूरा गर्न सक्षम रहेको पनि गौतमको भनाई थियो । उनले २०८४ सालको निर्वाचन ६० लाख मत प्राप्त गर्ने गरी योजना बनाएर अघि बढ्न अध्यक्ष ओलीलाई सुझाए । यसका लागि कमान्डर बन्न आफू तयार रहेको उनको भनाई थियो ।

‘मैले कमरेड केपीलाई भनेँ, म ७५ वर्षको छु । उहाँले तपाईं ७६ वर्ष पुग्नुभयो भन्नुभयो । मैले ल ठिक छ तपाईंको नजरमा बढी भएर के भयो त ? अझै पनि पार्टीले दिएको जिम्मेवारी सबै पूरा गर्न सक्छु,’ उनले भने, ‘मलाई कमान्डर बनाउँदा पार्टी फेरि फुटाउँछ भन्ने लाग्छ भने मसँगै अर्को मान्छे खटाए पनि भयो त ।’