काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी विभाजन भएको छ । उपेन्द्र यादव नेतृत्वमा रहेको सो पार्टीका सातजना सांसदसहित केन्द्रीय सदस्यको हस्ताक्षर लिएर अशोक राई निर्वाचन आयोग पुगेका छन् ।
जसपामा अहिले १२ जना सांसद रहेका छन् । त्यसमध्ये सात जनाको हस्ताक्षर पार्टी विभाजनको पक्षमा रहेको छ । त्यसैले सो पार्टीको आधिकारिकता माग गरिएको जनाइएको छ । उपेन्द्र यादव भने अहिले अमेरिका भ्रमणमा रहेका छन् ।
अध्यक्ष उपेन्द्र यादवले पार्टीमा एकलौटी र स्वच्छाचारी प्रवृत्ति देखाएकाले पार्टी विभाजन गर्नुपरेको सांसद सुशीला श्रेष्ठले बताएकी छन् । दल विभाजन गर्न निर्वाचन आयोग पुगेका विद्रोही समूहले पार्टीमा आन्तरिक लोकतन्त्र मरेको र यादव एकल हाबी भएको भन्दै असन्तुष्टि पोखेको छ ।
“उहाँमात्र हाबी हुने आन्तरिक लोकतन्त्र नमानेपछि यो निणर्यमा हामी पुग्यौं ‘,” श्रेष्ठले भनिन् । समानता र सम्मानको विषय पटकपटक उठाउँदा अध्यक्ष यादवले सुन्नै नचाहेको आरोप उनको छ । त्यसैले पार्टी विभाजन गर्नुपरेको उनले तर्क राखिन् । अध्यक्ष अमेरिका गएकै बेला पार्टी विभाजन किन ? छलफल भएन भन्ने प्रश्नमा उनले यी विषय पार्टी बैठकमा पटक पटक उठाउँदा पनि सुनुवाइ नभएको गुनासो पोखिन् । “महाधिवेशन गरौं भन्दा पनि नमान्ने । हाम्रो कुरा सुन्नै नचाहेपछि अति भयो र हामी यो निणर्यमा पुग्यौं,” उनले सुनाइन् ।
दल विभाजन गर्न भन्दै अशोक राइको नेतृत्वमा ७ जना सांसद आयोग पुगेका छन् । श्रेष्ठका अनुसार अब केन्द्रीय समिति बैठक बोलाउने र आफ्नो पक्षमा पार्टी सदस्यलाई ल्याउने तयारी छ । सात सांसदमा अशोक राई, सुशीला श्रेष्ठ, प्रदीप यादव, रञ्जु ठाकुर, हसिना खातुन, वीरेन्द्र महतो र नवकिशोशार शाह सुडी रहेका छन् ।