काठमाडौं । भौतिक पूर्वाधर तथा यातायात मन्त्री रघुवीर महासेठले सरकारले विभिन्न समस्या समाधान गरेर नागढुंगा–सिस्नेखोला सुरुङमार्ग छिचोलिएको बताएका छन् । सिद्धबाबा सुरुङमार्गमा पनि समस्या रहेको र त्यो समाधान गरिएको उनले उल्लेख गरे ।
प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बिहीबारको बैठकमा उनले करिब एक महिनायता दैनिक चार र पाँच हजारको संख्यामा सवारी चालक अनुमतिपत्र प्रिन्ट भइरहेको पनि जानकारी गराए । ‘पेन्डिङ’ सबै लाइसेन्स छाप्न १२र१३ महिना लाग्ने उनको भनाइ छ ।
उनले मध्यपहाडी, हुलाकीलगायत राजमार्ग र सडकखण्ड निर्माणको काम सुस्त भएको स्वीकार गरे । हुलाकी राजमार्ग निर्माणको काम गरिरहेको कम्पनीलाई आउँदो असार मसान्तसम्मको ‘अल्टिमेटम’ दिइएको उनले बताए ।
बुटवल–नारायणगढ सडकखण्डको सम्झौता आफ्नै पालामा भएको उनले उल्लेख गरे । त्यहाँ हालसम्म ५० प्रतिशत काम भएको र अब असार मसान्तसम्म हेर्ने उनको भनाइ छ । उनले यो सडकखण्ड विमान अवतरण गर्न सकिने किसिमले डिजाइन गरिएको बताए ।
नारायणगढ–पोखरा सडकखण्ड ‘टरमिनेट’ गर्ने अवस्थामा पुगिसकेकामा हाल केही सुधार भएको मन्त्री महासेठले बताए । उनले कर्णाली र सुदूरपश्चिम प्रदेशको विकासमा सरकार र आफ्नो ध्यान बढी रहेको बताए । यसपालि कर्णाली करिडोरको काममा विशेष ध्यान दिइने उनले सुनाए ।
उनले सडक सुधारका निम्ति काम गर्ने प्रतिबद्धता व्यक्त गरे । सरकारले काठमाडौं र केही सहरमा सडक सुरक्षाका निम्ति आधुनिक लाइटिङ र बोर्ड राख्ने काम गरिरहेको उनले बताए ।