काठमाडौं । रूसी सेनामा गएकाहरूलाई फर्काउन माग गर्दै उनीहरूको परिवारले माइतीघर मण्डलमा अनसन सुरू गरेका छन् ।
रूसी सेना आवद्ध भई सम्पर्कबिहीन भएका तथा स्वदेश फर्किन चाहेकालाई फर्काउन माग गर्दै शुक्रबार काठमाडौंको माइतीघरमा परिवारले अनसन सुरू गरेका हुन् ।
२५ र ३० जनाबाट अनसन सुरू गरिएको पीडित परिवार तथा नागरिकको जीवन रक्षाको लागि सचेतना अभियानकी संयोजक कृतु भण्डारीले जानकारी दिइन् ।
रूसी सेनामा रहेका नेपालीलाई पटक–पटक उद्धार गरिदिन सरकारसँग आग्रह गरिरहँदा चासो नदेखाएपछि अनसन बस्न बाध्य भएका हौं, उनले भनिन् ।
उनका अनुसार रूसी सेनामा आवद्ध भएका एक हजार भन्दा बढी पीडितहरू उनको सम्पर्कमा आएका छन् । कतिपय व्यक्तिहरू लामो समयदेखि सम्पर्कबिहीन छन् ।
त्यसैले फर्किन चाहेकालाई ल्याउन र बेपत्ता भएकाहरूको खोजीकार्य गर्ने माग राख्दै अनसन सुरूवात गरिएको संयोजक कृतु भण्डारीले जानकारी दिइन् ।
पीडितका परिवार लामो समयदेखि कहिले सडक र सदनमा आफ्ना परिवारलाई फर्काउन माग राख्दै आवाज उठाउँदै आएका छन् । बिहीबार पनि पीडितका परिवारले आफ्ना माग राख्दै सिंहदरबारको दक्षिण गेट अगाडि प्रदर्शनी गरेका थिए ।
प्रदर्शनीमा १२ जना पीडितका परिवार पक्राउ परेका थिए । उनीहरूलाई साँझमात्र छोडिएको थियो ।