• मंसिर १४ २०८१, शुक्रबार

विश्व भूराजनीतिक तनाब बढेका कारण रक्षा बजेट बढाउन बाध्य भयौं : जापानी प्रधानमन्त्री

चैत्र २६ २०८०, सोमबार

काठमाडौं । जापानका प्रधानमन्त्री फुमियो किशिदाले भूराजनीतिक तनावले विश्व ऐतिहासिक मोडमा धकेलिएको बताएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनसँग तय भएको सम्मेलनअघि किशिदाले आइतबार सीएनएनसँग यस्तो बताएका हुन् ।
उनले जापान अहिले आफ्नो रक्षात्मक स्थिति फेर्न बाध्य भएको जिकिर गरे । ‘युक्रेनमा रुसको आक्रमण, मध्यपूर्व र पूर्वी एसियाको अवस्था देखिरहँदा हामी ऐतिहासिक मोडको सामना गरिरहेका छौँ,’ किशिदाले भने ।

जापानले आफ्नो रक्षात्मक नीति फेरेको बताउँदै उनले अगाडि भने,‘त्यसैले जापानले आफ्नो रक्षात्मक क्षमतालाई मौलिक रूपमा सुदृढ गर्ने निर्णय गरेको छ र हामीले यी मोर्चामा जापानको सुरक्षा नीतिमा ठूलो परिवर्तन गरेका छौँ ।’ बढ्दो सुरक्षा चुनौतीको सामना गरिरहेका बेला जापान र अमेरिकाबीचको गठबन्धन अझ बढी महत्त्वपूर्ण हुँदै गइरहेको उनले उल्लेख गरे ।
बुधबार बाइडेन र किशिदाबीच वासिङटनमा भेटवार्ता हुँदै छ । किशिदाले अमेरिकी संसद्लाई सम्बोधन गर्ने कार्यक्रम पनि छ । यस्तै, उनले बाइडेन र फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरसहितको त्रिपक्षीय शिखर सम्मेलनमा भाग लिनेछन् ।