काठमाडौं । नेपाल समाजवादी पार्टी विभाजन भएको छ । अध्यक्ष बाबुराम भट्टराईसँग छुट्टिएर अर्का अध्यक्ष महिन्द्र राययादव पक्षले माओवादी केन्द्रसँग शनिबार पार्टी एकता गर्ने सहमति गरेका छन् ।
बालुवाटारमा पार्टी एकताको सहमति गरेको छलफलमा बाबुराम भट्टराई भने उपस्थित थिएनन् । बैठकमा अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगा श्रेष्ठ र महासचिव रमेशप्रसाद यायद सहभागी थिए ।
‘अध्यक्ष र सहअध्यक्ष र महासचिव सहभागी बैठकले पार्टी एकता गर्ने सहमति गरेका हौं,’ सहअध्यक्ष श्रेष्ठले भने । यादव नेसपाका संघीय सांसद र श्रेष्ठ बाग्मती प्रदेश सांसद हुन् । दुवै माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित भएका थिए । चुनावपछि माओवादी केन्द्र र नेसपाबीच एकता गर्न भट्टराई पनि सहमत थिए तर एकताबाट पछि हटेपछि नेसपामा भट्टराई र यादवबीच विवाद चुलिएको थियो ।
भट्टराईले पछिल्लो समय कुनैपनि राजनीतिक दलसँग कुम नजोड्ने बताउँदै आएका छन् ।
शुक्रबारमात्रै नेसपाका राजनीतिक समिति सदस्य विश्वदीप पाण्डेले फेसबुकमा लामो स्टाटस लेखेर अध्यक्ष भट्टराईलगायत आफूहरू नेसपालाई वैकल्पिक राजनीतिक यात्रामा नै लैजाने विचारमा रहेको बताएका थिए ।
‘हाम्रो विचारमा अलि कष्ट खेपौं केही समय भन्ने नै छ । यसमा कष्टकर बाटो हिँड्न रुची नहुने साथीहरु अलग हुनुहुन्छ । यो सामान्य कुरा हो,’ उनले भनेका छन् ।
पार्टी फुटाएकोमा कारबाही नगरिने पनि उनले बताएका छन् । ‘यसमा हामी पुरानै शैलीमा कार्बाही, आरोप प्रत्यारोप पनि गर्दैनौं । माओवादी नेतृत्व र प्रधानमन्त्रीज्यूसँग पनि विभिन्न सामाजिक मुद्दाहरुमा म संवादमा नै छु । उहाँहरुभित्र पनि आफ्नै समस्याहरु छँदै छन्, प्रधानमन्त्री आफै पार्टीभित्रको समस्या समाधान गर्न नसकेर चिन्तामा हुनुहुन्छ । तैपनि हामी उहाँलाई नेसपाबाट आउने साथीहरुलाई उचित र सम्मानजनक स्थान सुरक्षित गरिदिनु है भन्छौं,’ पाण्डेले लेखेका छन् ।
२०७६ वैशाखमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच एकता भएर समाजवादी पार्टी नेपाल बनेको थियो । २०७९ असारमा उपेन्द्र यादवसँगपनि छुट्टिएर भट्टराईले नेपाल समाजवादी पार्टी गठन गरेका थिए ।