काठमाडौं । सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिन आयोगले कारबाही सिफारिस गरेको नुवाकोटका जिल्ला प्रहरी प्रमुख सञ्जयसिंह थापाको जिम्मेवारी खोसिएको छ । थापा माथि सुन तस्करीमा संलग्नसँग ६० लाख रुपैयाँ मागेको आरोप छ ।
सुन तस्करीको अनुसन्धानबारे छानबिन गर्न गठित पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको जाँचबुझ आयोगले बिहीबार प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा सुन तस्करीबारे अनुसन्धानमा सीआईबीबाट गम्भीर त्रुटि भएको निष्कर्ष निकालिएको छ ।
त्यसक्रममा सीआईबी प्रमुख किरण बज्राचार्य, एसपी थापा, डीएसपी दुर्गा दाहाल र रुगम कुँवरलाई कारबाही सिफारिस भएको छ । कारबाही सिफारिस भएपछि थापालाई नुवाकोट प्रहरी प्रमुखबाट शुक्रबार हटाइएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
नुवाकोटबाट हटाइएका एसपी थापा र डीएसपी दाहालमाथि सुन तस्करी प्रकरणका अभियुक्त जीवन चलाउनेसँग ६० लाख रुपैयाँ मागेको आरोप समेत छ । सीआईबीमा हुँदा उनले सुन तस्करीबारे अनुसन्धानको नेतृत्व गरेका थिए ।