• फाल्गुन २९ २०८२, शुक्रबार

सदनमा कांग्रेसको प्रश्न,‘पुन र सुनको सम्बन्ध के हो स्पष्ट पारियोस्’

चैत्र २ २०८०, शुक्रबार

काठमाडौं । कांग्रेस सांसद राजेन्द्र केसीले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको काठमाडौंस्थित घर कुन स्रोतले बनाइएको हो, स्पष्ट पार्न आग्रह गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले १० वर्षअघि दुई कोठाको डेरामा बसेका पुनको अहिले आलिसान महल बनेको भन्दै आर्थिक स्रोतबारे स्पष्ट पार्न माग गरेका हुन् ।

‘१० वर्ष अगाडि उहाँ (नन्दबहादुर पुन) कपनको कुनै ठाउँमा डेरामा दुई कोठामा बस्नुहुन्थ्यो । आज पाँच रोपनी जग्गामा आलिसान दरबारमा उहाँ राज भइबक्सेको छ,’ उनले भने,‘म चाहन्छु, त्यो पैसा कहाँबाट आयो ? कसरी त्यो दरबार बन्यो ? त्यसमा सभामुखबाट रुलिङ हुनका लागि भन्दछु । स्रोत के हो ? कसरी धन प्राप्त भयो ? कसरी घर बनाउनुभयो ? सुनसँग पुनको सम्बन्ध बारेमा स्पष्ट पार्न अनुरोध गर्दछु ।’

यस्तै, सुन तस्करसँग अर्थमन्त्री वर्षमान पुनको टेलिफोन सम्पर्कको विवरण सार्वजनिक भएको भन्दै उनले सो कुराकानीको अडियो नै संसद्मा सुनाउन माग गरे । उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि पनि प्रश्न गरे ।

‘उहाँले (गृहमन्त्री रवि लामिछाने) सहकारीबाट ४६ लाख रुपैयाँको गाडी चढ्नुभएको रहेछ । यो घोर आपत्तिजनक कुरा छ । उहाँ सहकारी सदस्य नभएको नाताले उहाँले लिन मिल्दैन,’ सांसद केसीले भने,‘सहकारीपीडितहरूलाई उहाँले कसरी सम्बोधन गर्नुहुन्छ ? गम्भीर आशंका छ । त्यसैले म भन्छु–रविजी तपाईं पीडक हो । पीडकले पीडितलाई न्याय दिन सक्दैन । तपाईंले यसको अनुसन्धान नहुन्जेलसम्म विश्राम गरेर बस्नुहोला । तपाईं ठिक भएको अवस्थामा आउनुहोला । अहिले कुनै हालतमा तपाईंलाई गृहमन्त्री स्वीकार्नेवाला छैनौँ ।’